जिल्ला प्रशासन कार्यालय मकवानपुरले परिवारले अन्तिम संस्कार गरिसकेकासहित भोटेकोशी बाढीमा बेपत्ता भएका मकवानपुरका ५८ जनाको कानुनी अवस्था टुंग्याउन विवरण संकलन र प्रमाणीकरणको प्रक्रिया अघि बढाएको छ ।
बेपत्ता भएकालाई प्रशासनले मृत घोषणा गर्ने प्रक्रियाका लागि विवरण यकिन गर्न थालेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार गत २३ असोजमा नेपाल राजपत्रमा प्रकाशित विपत्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र ‘भोटेकोशी बाढीमा बेपत्ता भएकाको आधिकारिक विवरण यकिन गर्ने विशेष प्रक्रिया, २०८३’ अनुसार प्रमाणीकरण अघि बढाइएको हो ।
बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तह, जिल्ला विपत् व्यवस्थापन समिति र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत विवरण यकिन गरिने प्रजिअ अधिकारीले बताए । परिवारको निवेदन, स्थानीय तहको प्रमाणीकरण र दाबीविरोधपछि विवरणलाई अन्तिम रूप दिइनेछ ।
सम्बन्धित स्थानीय तहले वडा कार्यालयमार्फत बढीमा पाँच दिनको समय दिएर निवेदन आह्वान गर्ने प्रजिअ अधिकारीले बताए । उनका अनुसार बेपत्ता व्यक्तिका परिवारले नाता प्रमाणित हुने कागजात र स्वघोषणासहित निवेदन दिनुपर्नेछ । परिवारका सदस्य नभएको अवस्थामा स्थानीय प्रहरी र वडासचिवको रोहवरमा सर्जमिन मुचुल्का तयार गरिने व्यवस्था रहेको उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बेपत्तामध्ये सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका २१ जना छन् । थाहा नगरपालिकाका २०, मनहरी गाउँपालिकाका चार, मकवानपुरगढी र बकैया गाउँपालिका तीन–तीन, भीमफेदी गाउँपालिकाका दुई, इन्द्रसरोवर र कैलाशका दुई–दुई तथा राक्सीराङका एकजना बेपत्ता छन् । बाढीमा परेका मकवानपुरका ४५ जनाको उद्धार गरिएको थियो भने हेटौँडाका तीन र भीमफेदीका एक गरी चारजनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।
६० दिनपछि कुशको शव बनाएर अन्त्येष्टि
गत १० भदौमा रसुवाको भोटेकोशी बाढीमा बेपत्ता हेटौँडा उपमहानगरपालिका– ५ का २५ वर्षीय प्रदीप सापकोटाको ६० दिनसम्म अवस्था पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ । बेपत्ता भएको दुई महिनासम्म पनि शव फेला नपरेपछि परिवारले आइतबार हेटौँडा– १० स्थित राप्ती नदीकिनारमा धार्मिक विधिअनुसार कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेको हो ।
लामो समयसम्म खोजी गर्दा पनि प्रदीपको अवस्थाबारे कुनै जानकारी नआएपछि परिवारले हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरेको हो । प्रदीपका बुबा बाबुराम सापकोटाले छोराको अन्त्येष्टि गर्नसमेत आर्थिक अभाव झेल्नुपरेको थियो । छोराको अवस्थाबारे जानकारी नपाएपछि काजकिरिया गर्ने खर्च जुटाउन नसकेको भन्दै उनी केही दिनअघि जिल्ला प्रशसान कार्यालय मकवानपुर पुगेका थिए । प्रदीप रोजगारीका सिलसिलामा रसुवा पुगेका थिए । निर्माणाधीन जलविद्युत् आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका उनी बाढीपछि सम्पर्कविहीन थिए । बाढी आउनुअघि उनले परिवारसँग दसैँमा घर फर्किने बताएका थिए । तर, त्यसपछि उनको अवस्था पत्ता लाग्न सकेन ।
हेटौँडाका प्रदीप मात्र होइन, बाढीमा बेपत्ता भएका मकवानपुरको थाहा नगरपालिका– ३ का नेपाली सेनाका जमदार प्रदीप बर्तौला, प्रशान्त कार्की तथा थाहा– ६ वज्रबाराहीका रञ्जन अधिकारी र रेलबहादुर अधिकारीका परिवारले पनि उनीहरू फेला नपरेपछि कुशकै शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् । लामो सयमसम्म पनि उनीहरूको अवस्था नखुलेपछि परिवारले धार्मिक परम्पराअनुसार किरियाकर्म गरिएको हो ।