गोरखा/ गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ। नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौज परिचालन गरी उनीहरूको उद्धार गरेको हो।
नेपाली सेनाले आइतबार दिउँसो ३ बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट उद्धार गरिएकाहरूमा शिशु, बालबालिका तथा एक विदेशी नागरिकसमेत रहेका छन्।
सेनाका अनुसार जगतबाट गोरखासम्म ६ जना, फिलिमबाट हुल्चुकसम्म शिशुसहित ४ जना र यारूबाट हुल्चुकसम्म बालक दुईजना तथा एक विदेशी नागरिकसहित १५ जनाको उद्धार गरिएको छ।
त्यस्तै, हुल्चुकबाट फिलिमसम्म एकजना, नाम्रुङबाट फिलिमसम्म दुईजना, न्याक्फेदीबाट न्याकडाँडासम्म नौजना तथा पायुबाट सल्लेरी (नयाँबस्ती) सम्म १२ जनालाई सुरक्षित स्थानमा पुर्याइएको छ। उद्धार गरिएका सबैलाई नेपाली सेनाका हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा पुर्याइएको सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ।