‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी– २०८३’ हुने भएको छ।
नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरकजयन्तीको अवसरमा चेम्बरको सहकार्यमा आयोजना गर्न लागिएको हो।
आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदर्शनीको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ। प्रदर्शनीमा नेपालका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतबाट समेत गरी एक सयभन्दा बढी स्टल रहने आयोजकले जनाएको छ। सबै स्टल बुकिङ भइसकेको बताइएको छ।
अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेनवाटर हार्भेस्टिङ तथा फोहोर व्यवस्थापनलगायतका सामग्री तथा प्रविधि प्रदर्शनीमा राखिनेछन्।
आयोजकका अनुसार यसपटक प्रदर्शनीलाई वातावरणमैत्री बनाउन डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क तथा भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरिनेछ। यसबाट प्रदर्शनीलाई ‘पेपरलेस’ बनाउने लक्ष्य राखिएको छ।
प्रदर्शनीमा जलवायु परिवर्तन, विपत्–प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान तथा सार्वजनिक–निजी साझेदारीलगायतका विषयमा नीति निर्माता, सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, इन्जिनियर तथा आर्किटेक्टको सहभागितामा सेमिनार तथा प्यानल छलफल आयोजना गरिनेछ।
युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ व्यवसाय सुरु गरेका र चुनौती सामना गरिरहेका युवालाई खुला आह्वान गरी छनोट भएकालाई निःशुल्क तालिम तथा परामर्शसमेत प्रदान गरिने आयोजकले जनाएको छ।