पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित सरकारले निर्माण कार्य तीव्र पारेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै भदौ मसान्तसम्ममा कृष्णभिरको सडक निर्माण सम्पन्न गरी यातायात सहज बनाउने लक्ष्य रहेको बताएका थिए। सोही लक्ष्यअनुसार निर्माण कार्यलाई तीव्रता दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कृष्णभिरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी परिचालन गरिएको छ। निर्माण क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले फ्लडलाइट जडान गरिदिएपछि रातको समयमा समेत काम भइरहेको छ। हाल दैनिक १२ देखि १४ घण्टासम्म निर्माण कार्य भइरहेको जनाइएको छ।
नयाँ ट्रयाक निर्माणसँगै पहिरो रोकथामका लागि सडकको माथिल्लो र तल्लो दुवै भागमा काम भइरहेको छ। साथै, पृथ्वी राजमार्गका अन्य पाँच स्थानमा गएको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन गर्ने काम पनि समानान्तर रूपमा अघि बढाइएको छ।
भदौ १० गते आएको बाढीका कारण कृष्णभिर क्षेत्रको सडक कमजोर बनेको थियो। त्यसपछि भदौ १४ गते भोटेकोशीमा आएको बाढीले सडक थप भासिएपछि सोही दिन सरकारी टोलीले स्थलगत निरीक्षण गरेको थियो। त्यसक्रममा प्रधानमन्त्री शाह र पूर्वाधारमन्त्रीबिच सडक तत्काल मर्मत गर्ने विषयमा छलफल भएको थियो।
त्यसपछि सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकहरूले चार दिनसम्म द्रुत अध्ययन गरेका थिए। अध्ययनपछि कृष्णभिरको पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्ने विकल्पलाई प्राथमिकताका साथ अघि बढाउने सुझाव दिइएको थियो।
सरकारले सोही प्राविधिक सुझावका आधारमा निर्माण अघि बढाएको हो। निर्माण कार्य निर्धारित समयमै सम्पन्न भए पृथ्वी राजमार्गको उक्त खण्डमा भदौ मसान्तभित्रै यातायात सञ्चालनमा आउने अपेक्षा गरिएको छ।