‘हेल्लो बुढी... हामी उद्धार भएर काठमाडौं आइपुग्यौँ है’ रसुवाको भोटेकोशी किनारबाट सम्पर्कविहीन भएको ६ दिनपछि सोमबार साँझ आएको यही एउटा फोनले हेटौँडा उपमहानगरपालिका– १५ रातोमाटे ठुलो सुकौलीकी करिश्मासिंह तामाङको जीवन फेरि उज्यालो बनायो । त्यसअघि लगातार ६ दिन उनी श्रीमान् राजेन्द्र थापामगर जीवित छन् कि छैनन् भन्ने अन्योलमा थिइन् ।
करिश्मालाई सुरुमा रसुवामा विनाशकारी बाढी आएको जानकारी नै थिएन । बिहान श्रीमान् राजेन्द्रको फोन आएको थियो । केही मिनेट कुरा भयो, त्यसपछि फोन सम्पर्क टुट्यो । उनले पटक–पटक फोन गरिन्, तर सम्पर्क हुन सकेन । करिब आधा घण्टापछि राजेन्द्रले फेरि फोन गरेर छोटकरीमा भने, ‘म सुरक्षित छु, चिन्ता नगर ।’ त्यसपछि मोबाइल पनि बन्द भयो ।
दुई वर्षदेखि रसुवास्थित २१६ मेगावाटको जलविद्युत् आयोजनामा एक्स्काभेटर अपरेटरका रूपमा काम गरिरहेका उनी रातिको ड्युटी सकेर बिहान ६ बजे कोठामा फर्किएका थिए । हातमुख धोए, खाजा खाए र सुत्न ओछ्यानमा पल्टिए । त्यहीवेला साथी सुजन गोलेले झ्यालबाट बाहिर हेर्दै भने, ‘ओइ, हेर त... बाढी आयोजस्तो छ ।’ राजेन्द्र झ्यालतिर गए । आफूहरू बसेको स्थानभन्दा करिब ८० मिटर तलको भोटेकोशी एक्कासि धमिलो र उर्लिँदै थियो । ‘रसुवामा यति वर्ष बसेपछि मलाई थाहा थियो, यो सामान्य अवस्था होइन,’ उनी सम्झन्छन् । उनी तुरुन्तै कोठाभित्र फर्किए । रातिको ड्युटी सकेर निदाइरहेका आफ्ना सालो नवीन स्याङ्तान र साथीलाई उठाए । ‘उठ, भाग्नुपर्छ,’ उनले भने ।
तर भाग्न निस्किएको केही सेकेन्डमै बाटोतिरबाटै बाढी आयो । ‘बम पड्किएजस्तो आवाज आयो । ठुल्ठुला ढुंगा उडिरहेका थिए । हामी भाग्दै गर्दा हाम्रो कोठा नै बगिसक्यो ।’ भाग्ने बाटो बन्द भएपछि उनीहरू नजिकै रहेको चिनियाँ कामदार बस्ने मेसमा पसे । तर, त्यो पनि सुरक्षित थिएन । तल्लो तला बगिसकेको थियो । भवन थर्किरहेको थियो । ‘त्यो वेला त बाँच्छौँ भन्ने आसै थिएन,’ राजेन्द्र भन्छन् । त्यसपछि उनले एउटा झ्याल फोडे । पर्खाल चढेर माथि पुगे । आफू सुरक्षित भएपछि तल फसेका साथीहरूलाई एक–एक गर्दै तान्न थाले । पहिलो प्रयास एउटा चिनियाँ कामदारलाई बचाउने थियो । तर, उनको हात छुट्यो र बाढीले बगायो । त्यसपछि भने उनले साथीहरूलाई तान्न थाले । अन्तिममा आफ्नै सालो नवीन आत्तिएर माथि आउन सकिरहेका थिएनन् । ‘मैले लगातार बोलाइरहेँ । बल्ल आयो । उसलाई पनि तानेँ ।’ त्यसरी राजेन्द्रले सातजनाको ज्यान जोगाए ।
हेटौँडा– १५ का नवीन स्याङ्तान राजेन्द्रका सालो रसुवा पुगेको १२ दिन मात्र भएको थियो । उनले जीवनमा पहिलो जागिर खाएका थिए । पहिलो तलब पनि आएको थिएन । उनी रातिको ड्युटीपछि गहिरो निद्रामा थिए । उनी सम्झन्छन्, ‘भिनाजुले नउठाउनु भएको भए म त सुतेको सुत्यै हुन्थेँ ।’ उनका आँखैअगाडि धेरै सहकर्मीलाई बाढीले बगायो । ‘हामीसँगै काम गर्ने धेरै साथीहरूलाई आँखैअगाडि हराएको देख्यौँ,’ उनले भने । ज्यान जोगाएर उनीहरू जंगल हुँदै माथि रहेको एउटा विद्यालय पुगे । त्यही विद्यालय ६ दिनसम्म उनीहरूको आश्रयस्थल बन्यो । न सहज खाना, न ओछ्यान, न बाहिर निस्कने बाटो । चाउचाउ, चिउरा र बिस्कुटको भरमा उनीहरूले उद्धारको प्रतीक्षा गरिरहे । मोबाइलको चार्ज सकिएपछि परिवारसँग सम्पर्क पनि टुट्यो ।
हेटौँडा– १५ का वडाध्यक्ष सुनील मोक्तानले सुरक्षित स्थानमा बसेका व्यक्तिहरूको एउटा भिडियो प्राप्त गरे । त्यो भिडियो परिवारलाई पठाए । भिडियोमा नवीन देखिएपछि मात्रै परिवार केही ढुक्क भयो । छैटौँ दिन नेपाली सेनाको हेलिकोप्टरले उनीहरूलाई धुन्चे ल्यायो । त्यहाँबाट काठमाडौं हुँदै उनीहरू अहिले हेटौँडा आइपुगेका छन् ।