डडेल्धुराको गाईबाँधे आसपासका क्षेत्रमा पछिल्लो १ देखि ६ घण्टाको अवधिमा मध्यमदेखि भारी वर्षा भएको छ। वर्षाका कारण स्थानीय पुन्तुरा गाडलगायत अन्य स–साना खोलाहरूमा पानीको बहाब बढ्न सक्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले शनिबार साँझ ५:१० बजे सूचना जारी गर्दै नदी तथा खोला तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
वर्षा अझै जारी रहन सक्ने तथा खोलानालामा पानीको बहाब अचानक बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
स्थानीय प्रशासन तथा सरोकारवाला निकायलाई समेत सम्भावित बाढीजन्य जोखिमप्रति निगरानी बढाउन आग्रह गरिएको छ।