भारतीय पर्यटक सवार भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा शुक्रबार पोखरामा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । पोखरा महानगरपालिका– १८, गैरीचौतारा घुम्तीबाट लेकसाइडतर्फ आउँदै गरेको बिआर ०५ बिबी ६७५९ नम्बरको भारतीय कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल फेवातालमा खसेर दुर्घटना भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिए ।
बोगटीका अनुसार मृत्यु हुनेमा भारतको बिहार प्रदेश, पूर्वी चम्पारण जिल्ला, रक्सौल घर भएका २६ वर्षीय नवदीपकुमार यादव र नामथर तथा वतन नखुलेका करिब ४०–४५ वर्षीय पुरुष रहेका छन्। नवदीपको पहिचान उनको आधार कार्डबाट खुलेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर पाएपछि घटनास्थल पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले फेवातालको करिब २० फिट गहिराइबाट दुवैजनालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेका थिए। मृतक दुवैको शव अस्पतालको शवगृहमा राखिएको छ।
दुर्घटनामा परी भारतको बिहार प्रदेश, मोतीहारी जिल्ला, रक्सौल घर बताउने २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादव घाइते भएका छन्। दुवैको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।
स्थानीयले दुर्घटनाको जानकारी दिएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट डिएसपी बोगटीको नेतृत्वमा १५ जना र सशस्त्र प्रहरी बल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमान्डमा ६ जना गोताखोर र सातजना विपत् व्यवस्थापन विज्ञसहित १३ जनाको टोली घटनास्थल पुगेको थियो ।
कारसहित तालमा खसेका उनीहरूलाई सशस्त्र प्रहरीका जवान जनक बुढा र देवराज खनालले तालभित्रबाट निकालेका थिए। मानिसको उद्धारपछि क्रेनको सहयोगमा कारलाई तालबाट निकालिएको थियो । कार हाल वडा प्रहरी कार्यालय बैदाममा राखिएको र घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेका जनाएको छ ।