कैदीबन्दीले गरे बाढीपीडितलाई सहयोग

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

दाङको तुलसीपुरस्थित कारागारका कैदीबन्दीले बाढीपीडितलाई सहयोग गरेका छन् । १० भदौमा भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूलाई कैदीबन्दीले ६० हजार २० रुपैयाँ सहयोग गरेका हुन् ।

सरकारले दैनिक रूपमा दिने रासन नगद रु. ८० र सात सयग्राम चामलबाट दुई दिनको रकम कटाएर कैदीबन्दीहरूले प्रधानमन्त्री दैवीप्रकाेप उद्धार कोषमा सहयोग गरेको कारागारका प्रशासक गिरबहादुर सिजवालले बताए ।

उनका  अनुसार कारागारका ४०७ जना कैदीबन्दीले उक्त रकम सहयोग गरेका हुन् । सोही रकम बुधबार प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेलाई हस्तान्तरण गरिएको कारागारका जनस्वास्थ्य निरीक्षक द्राेण वलीले बताए ।

उनका अनुसार तीनवटा ब्लकका सबै कैदीबन्दीहरूले सहयोग गरेका हुन् । विपत्तिको समयमा सबैले हातेमालो गर्नुपर्ने भन्दै यस्तो कार्य गरिएको कैदीबन्दीहरूको भनाइ उदृत गर्दै जनस्वास्थ्य निरीक्षक वलीले बताए । 

सुझावित समाचार