आइतबार १० बजेसम्मका प्रमुख १० खबर

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण

सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको छ : प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीसहित देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट हालसम्म ७८१ जनाको मृत्यु भएको जानकारी दिएका छन्। उनले विपतपछिको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकार पूर्ण रूपमा परिचालित रहेको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत विपतको पछिल्लो अवस्थाबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको बताए। उद्धार तथा राहत कार्यका लागि हालसम्म ३९४ वटा उडान भइसकेका छन् भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २० हजार ६१८ जना सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए।

प्रधानमन्त्रीले भने , 'सरकारले प्रभावित प्रत्येक नागरिकसम्म राहत पुर्याउने र पुनर्निर्माण तथा पुनर्स्थापनाको काम पूर्ण नतिजा नआएसम्म निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री शाहले भने, ‘हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न सफल हुनेछौँ। नेपाल सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको छ।’

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट ग्यास आपूर्ति हुने

त्रिशूली नदीको बाढीले पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर खण्डमा सडक अवरुद्ध भएपछि आयल निगमले वैकल्पिक मार्गबाट एलपी ग्यास आपूर्ति गर्ने भएको छ।

उद्योगीहरूसँग छलफलपछि बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासीलगायतका जिल्लामा रहेका ग्यास उद्योग तथा अन्य जिल्लाका उद्योगसँग समन्वय गरी खाली बुलेट रिफिल गर्ने व्यवस्था मिलाएको निगमले जनाएको छ।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देशः 'यो दुःखमा नेपाल एक्लै छैन'

बाढीबाट नेपालले भोगेको क्षतिप्रति चीन सरकारले दुःख व्यक्त गर्दै यो विपत्तिमा नेपाल एक्लै नरहेको सन्देश पठाएको छ । चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपालका लागि चिनियाँ राजदूतमार्फत यस्तो सन्देश पठाएका हुन्। 

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई  भेटेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको उक्त सन्देश नेपाल सरकारलाई सुनाएका हुन्। 

पल्सर स्पोर्टस् अवार्ड २०८२ : चार विधाका मनोनयन सार्वजनिक

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड, २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को खेलाडी छनोट समितिले आइतबार अवार्ड मनोनयन घोषणा कार्यक्रममा अवार्डको २३औँ संस्करणको वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा ५–५ मनोनयन सार्वजनिक गरेको हो।

शव व्यवस्थापन गर्न लागिएको हो, अन्त्येष्टि होइन : प्रहरी

भोटेकोशी र त्रिशूलीको बाढीमा परेर मृत्यु भएकाहरूको शव व्यवस्थापनमा समस्या भएपछि सरकारले ‘एयरटाइट ब्याग’मा राखेर जमिनमुनि गाड्न थालेको छ। 

शवको अन्त्येष्टि गर्न लागिएको भनी सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलिएपछि नेपाल प्रहरीले भिडियो सन्देश जारी गर्दै शवको अस्थायी व्यस्थापन मात्रै गर्न लागिएको स्पष्ट पारेको छ। पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम ‘एयरटाइट ब्याग’मा राखेर गाड्न थालिएको प्रहरीले जनाएको छ।

माथिल्लो त्रिशूली ३ ‘ए’को सुरुङमा ब्लास्टिङ गरेर खोजी गरिँदै, ९० जनाको संयुक्त टोली उद्धारमा सक्रिय

माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूका उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाएका छन्। 

पछिल्लो जानकारीअनुसार उद्धार स्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीसहित सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कुल ९० जनाको संयुक्त टोली खटिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

रविसँग मुख्यमन्त्री थापाको गुनासो– विपतमा तीन तहबिच समन्वय अभाव देखियो

भोटेकोशीको विनाशकारी बाढीपछि उद्धार, राहत र पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउने विषयमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाबिच छलफल भएको छ।

छलफलमा मुख्यमन्त्री थापाले विपत् व्यवस्थापनका क्रममा संघ, प्रदेश र स्थानीय तहबिच आवश्यक समन्वय हुन नसकेको भन्दै त्यसले काममा असर परेको गुनासो गरे। उनले प्रदेश सरकारले आफ्नै स्रोत र संयन्त्रबाट राहत तथा उद्धारका काम अघि बढाइरहेको बताउँदै प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुगेका वेलासमेत प्रदेश सरकारलाई औपचारिक जानकारी नदिइएकोप्रति दुःख व्यक्त गरे।

सन्दीप लामिछानेले एक महिनाको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दिने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्।

मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कपमा नेपालको प्रतिनिधित्व गर्न तयारी गरिरहेका लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो सहयोगको घोषणा गरेका हुन्।

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको नाममा नक्कली भौचर बनाएर ठगी गर्ने एकजना पक्राउ

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै नक्कली भौचर बनाई सामाजिक सञ्जालमा पोस्ट गर्ने रामेछापका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका– २, ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन्  । उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गरी ई–सेवाको नक्कली ट्रान्जेक्सन स्टेटमेन्ट तयार गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै आफ्नो क्युआर कोडसमेत सामाजिक सञ्जालमा राखेर अन्य व्यक्तिहरूलाई पनि सहयोग गर्न आह्वान गर्दै ठगी धन्दा चलाइरहेको फेला पारेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए ।

खोजी तथा उद्धारमा ७८ सय प्रहरी परिचालन

भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ८ सय ९४ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

बाढी प्रभावित क्षेत्रहरूमा घाइतेको उद्धार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्यांकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वयलगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थितिसम्बन्धी कार्यसम्पादन गर्न प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू एवं प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमान्डमा विभिन्न टोली परिचालन गरिएका छन्। 

सुझावित समाचार