प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीसहित देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट हालसम्म ७८१ जनाको मृत्यु भएको जानकारी दिएका छन्। उनले विपतपछिको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकार पूर्ण रूपमा परिचालित रहेको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत विपतको पछिल्लो अवस्थाबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको बताए। उद्धार तथा राहत कार्यका लागि हालसम्म ३९४ वटा उडान भइसकेका छन् भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २० हजार ६१८ जना सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए।
प्रधानमन्त्रीले भने , 'सरकारले प्रभावित प्रत्येक नागरिकसम्म राहत पुर्याउने र पुनर्निर्माण तथा पुनर्स्थापनाको काम पूर्ण नतिजा नआएसम्म निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री शाहले भने, ‘हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न सफल हुनेछौँ। नेपाल सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको छ।’
विद्युत् आयोजना आसपासबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत २७९ जनाको उद्धार गरिएको छ। रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट मात्रै दुई दिनमा २५० जनाको उद्धार गरिएको प्रधानमन्त्री शाहले बताए।
नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको खोज तथा उद्धार प्रयास भने जारी छ। नेपाली सेनाका इन्जिनियरले ब्लास्टिङमार्फत सुरुङमा प्रवेश गर्ने प्रयास गरिरहेका छन्। तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीका विशेषज्ञसमेत गरी ९० जनाको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको छ।
आइतबार उद्धार टोलीले सुरुङको मुख्य भागमा २×३ फिटको प्वाल बनाएर डोरीको सहायताले तल झरेर खोजी गरेको थियो। तर, भित्रबाट कुनै प्रतिक्रिया नआएपछि ठुला उपकरणको प्रयोग, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ अघि बढाइएको प्रधानमन्त्री शाहले बताए। माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, लाङटाङ खोला र मैलुङ खोला जलविद्युत् आयोजनामा पनि खोज तथा उद्धार टोली परिचालन गरिएको छ।
प्रधानमन्त्रीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट २६७ जना घाइतेको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उपचारपछि १५६ जना डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा उपचार तथा मनोपरामर्शका लागि काठमाडौंसहित विभिन्न स्थानबाट चिकित्सकको टोली खटाइएको छ।
प्रधानमन्त्री शाहले बाढीपहिरोमा परी मृत्यु भएका ७८१ जनाको शव फेला परेको बताए। सुरक्षा निकायको सहयोगमा शव व्यवस्थापन भइरहेको र पहिचान भएका शव आफन्तलाई बुझाउने तथा पहिचान हुन नसकेका शवको कानुनबमोजिम व्यवस्थापन सुरु गरिएको उनले जानकारी दिए।