- ३६ घरपरिवारको बसोबास रहेको धादिङको ब्रुसबाङ गाउँका स्थानीय एक गाग्री पानीका लागि तीन घण्टाको जोखिमपूर्ण यात्रा गर्न विवश
डाँडाको बस्ती, वरपर उभिँदा पनि सिरिंग हुने डरलाग्दो भिर अनि त्यही भिरको पाखामा ज्यान हत्केलामा राखेर गरिने खेतीपाती। भिरमा बुट्यान फाँडेर बनाइएको जमिनमा पसिना बगाएर वर्षभिर दुःख गर्दा पनि मुस्किलले ६ महिना खान पुग्छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका– २ ब्रुसबाङका ३६ घरपरिवार बाँकी ६ महिना ज्याला मजदुरी, कन्दमूल र अनिकालसँग जुँधिरहेका छन्।
सीमान्तकृत चेपाङ समुदायको बसोवास रहेको ब्रुसबाङको कथा कुनै एउटा समस्यामा मात्र सीमित छैन। न बस्तीसम्मै सडक पुगेको छ, न बिरामी पर्दा औषधि पाउने नजिकै स्वास्थ्यचौकी छ। बालबालिकाका लागि गाउँमा कक्षा एकभन्दा माथि पढ्ने विद्यालय छैन। सबैभन्दा ठुलो सकस, एक गाग्री पानीका लागि आउजाउ तीन घण्टाको जोखिमपूर्ण यात्रा नगरे छिमेकीसँग पानी नै ऐँचोपैँचो गरेर प्यास मेट्नुपर्ने बाध्यता छ। यहाँका बासिन्दाले बाङकुर्ति खोलाले गुजारा चलाइरहेका छन्। पहाड रसाएर भित्रभित्रै संकलन भएको पानी बाङकुर्ति खोलामा निस्कने गरेको बेनीघाट रोराङ गाउँपालिका– २ का वडाध्यक्ष हेमराज भुजेलले बताए।
चार वर्षअघिदेखि गाउँमा बिजुलीबत्ती बल्यो। धेरै वर्षपछि गाउँ उज्यालो हुँदा स्थानीयवासीको अनुहारमा खुसीको किरण नछाएको होइन। तर, घर उज्यालो बने पनि काकाकुल बस्तीको वर्षौँ पुरानो तिर्खा भने अझै मेटिएको छैन। वर्षौँदेखि अभावै–अभावको भुमरीमा पिल्सिएका ब्रुसवाङवासी भन्छन्, ‘गाउँमा खानेपानी कहिले आउला ?’
पढ्ने उमेरमा पानीको भारी
ब्रुसबाङका बालबालिका बिहान झिसमिसेमै उठ्छन्। हातमा कापीकलम लिएर पढ्न बस्न होइन, रित्ता बोतल र गाग्री लिएर अभिभावकसँगै धारा पुग्छन्। नौ वर्षीया निशा चेपाङ ब्रुसबाङ आधारभूत विद्यालयमा कक्षा एकमा पढ्छिन्। उनी एकाबिहानै आउजाउ तीन घण्टा हिँडेर ल्याएको पानी बिसौनीको चौतारीमा राखेर आराम गर्दै गरेकी भेटिइन्। निशाले पानी त ल्याइन्, अब सरमिसले दिनुभएको गृहकार्य कति वेला गर्ने भन्ने चिन्ता लागेको बताउँछिन्। ‘बिहानै पानीको जोहो गर्दा घरमा पढ्न–लेख्न पटक्कै भ्याइँदैन। त्यसैले मेरो पढाइ राम्रो हुन सकेको छैन। बिहानै चार बजे धारा जानुपर्छ। आउँदा सातभन्दा बढी बज्छ। हामीलाई त धेरै समस्या छ। गाउँमै पानी आए त पानी लिन जाने समय घरमै बसेर पढ्न पाउँथेँ। मेरो पनि पढाइ राम्रो हुन्थ्यो होला,’ उनले भनिन्।
११ वर्षीय सुरेश चेपाङको भोगाइ पनि निशाको भन्दा फरक छैन। बिहान र बेलुका गरी दैनिक ६ घण्टा पानी बोक्नैमा उनको बाल्यकाल बितिरहेको छ। कहिले जूनको उज्यालोको सहारामा त कहिले आफूभन्दा ठुलाबडाको पछिपछि लाइट बालेर धारासम्म पुग्नु उनीहरूको बाध्यता हो। ‘पढ्ने समयमा पानी बोक्नुपर्छ। न होमवर्क गर्न भ्याइन्छ, न त राम्रोसँग पढ्न नै। अहिले त कक्षा एकमा पढ्छु। अब कक्षा दुई पढ्न त अर्को गाउँको विद्यालय जानुपर्छ। पढ्न डेढ घण्टा हिँडेर जाने र डेढ घण्टा हिँडेर फर्कनुपर्छ। कहिले पानी बोक्ने, कहिले पढ्न जाने, निकै समस्या हुन्छ,’ उनले सुनाए।
सनिसा चेपाङ पिपलभन्ज्याङ माध्यमिक विद्यालयमा कक्षा चारमा पढ्छिन्। उनी विद्यालय आउनजान तीन घण्टा र पानी लिन जाँदा तीन घण्टा गरी दैनिक ५÷६ घण्टा हिँड्ने गरेको बताउँछिन्। ‘बिहान पानी बोक्ने चटारो, घर फर्किएपछि विद्यालय जान हतार हुन्छ। खानेपानीको व्यवस्थापन र विकल्प नहुँदा ठुलो मर्का परेको छ। हिँड्दा–हिँड्दा शरीर बेसरी थाक्छ। घरमा गृहकार्य गर्ने फुर्सद हुन्न, विद्यालयमा आएर ध्यान दिएर पढ्न सक्ने अवस्था रहँदैन। हाम्रो त शैक्षिक अवस्था नै संकटमा छ,’ उनले भनिन्।
खानेपानी ऐँचोपैँचो र अकासेपानीको भर
खानेपानीको अभावका कारण ब्रुसवाङवासीको दैनिकी दिनानुदिन कष्टकर बन्दै गएको छ। बालबालिका, वृद्धवृद्धा, अशक्त तथा असहायका लागि पानी बोकेर खानु असम्भवजस्तै बनेको ५० वर्षीया फुलमाया चेपाङ बताउँछिन्।
‘गाउँमा पानीको हाहाकार छ। एक गाग्री पानी ल्याउन तीन घण्टा लाग्छ। पानी बोकेरै जीवन सकिने भयो। हामीलाईजस्तो दुःख त कसैलाई छैन होला,’ उनले भनिन्– ‘बिरामी पर्दा, हतार हुँदा राति पाहुना आयो भने छरछिमेकीसँग पानी सापटी माग्नुपर्छ। खानका लागि मात्र होइन, सुत्केरी हुँदा कपडा धुनसम्म छिमेकीसँग पानी ऐँचोपैँचो गरेका छौँ। पानी बोक्दा–बोक्दा बुढी भइयो, तर अझै गाउँमा पानी आएन।’
गाउँमा खानेपानी ल्याउन बन्दै गरेको भौतिक सरंचनाले उनीहरूलाई आस जगाएको छ, तर पानी कहिले आउँछ थाहा छैन। गाउँमा खानेपानी आएको दिनबाट उनीहरूको सुखको दिन मात्र होइन, जुनी फेरिएबराबर हुने फुलमाया बताउँछिन्। फुलमाया मात्र होइन, गाउँका ३६ घरपरिवार नै डेढ घण्टा जाने र डेढ घण्टा फर्कने गरी तीन घण्टाको बाटो नापेर एक गाग्री पानीको जोहो गर्छन्। बर्खाको समयमा भने आकाशको पानी संकलन गरेर पनि पिउने गरेका छन्। २५ वर्षीया सरिता चेपाङले घरको छानोमा वासको कप्टेरा हालेर हिलट्यांकीमा पानी जम्मा गरेकी छिन्।
आकाशबाट पानी परेको वेला ड्रममा जम्मा भएको त्यही पानी पिउने गरेको उनी बताउँछिन्। ‘भ्याएको वेला फिल्टर गरेर खान्छौँ, नभ्याएको वेला त्यत्तिकै पिउँछौँ। मैले मात्र होइन, गाउँमा धेरैले यस्तै गर्ने हुन्। दूषित पानीका कारण कहिलेकाहीँ त ठुलो स्वास्थ्य समस्या पनि पर्छ। वाकवाकी लाग्ने, झाडापखाला, आउँ, हैजाजस्ता महामारी फैलिन्छ। के गर्नु, यो हाम्रो बाध्यता हो। स्वास्थ्य संस्था पनि नजिकै छैन, जचाउन धेरै टाढा जानुपर्छ। खानेपानी, बाटोघाटो, शिक्षा, स्वास्थ्यजस्ता हरेक क्षेत्रबाट हाम्रो समुदाय पछाडि छ। धन्न गाउँमा बिजुलीबत्तीचाहिँ आयो, गाउँ झिलिमिली बनेको छ। तर, खानेपानीको हाहाकार छ। पानी ल्याउन सबै लागिपरेका छन्। कहिले आउने हो थाहा छैन। अझै अरू विकास गाउँमा खै कहिले आइपुग्ला ?’ लामो सास फेर्दै उनले भनिन्।
६ महिना सहकाल, ६ महिना अनिकाल
ब्रुसवाङवासीको भिरालो र भिरको जमिनबाहेक अन्य खेतबारी छैन। भिरालो जमिनमा मकै र फापरभन्दा अरू अन्नबाली फल्दैन। वर्षभरि ज्यान फालेर काम गर्दा पनि आफ्नै उत्पादनले कसैको परिवारलाई वर्षभरि खान पुग्दैन। ६ महिना सहकाल र ६ महिना अनिकालको यो चक्र वर्षौँदेखि चलिरहेको छ। बाँदर लड्ने भिरमा खेती गरेर ६ महिना मुस्किलले धानेपछि उनीहरू बाँकी ६ महिना ज्याला मजदुरी र कन्दमूलको भरमा गुजारा गर्छन्।
किशोर चेपाङ भन्छन्, ‘केही वर्षअगाडिसम्म डोको, डालो, थुन्छे, मान्द्रो तथा भकारी बुनेर बजारमा बेच्ने गथ्र्याैँ। त्यसैबाट बाँकी ६ महिनाको जोहो हुुन्थ्यो। तर, पछिल्लो समय प्लास्टिकका सामानको प्रयोग बढ्यो, व्यापारी पनि हराए। निगालोका सामान बिक्नै छाड्यो। त्यसपछि विकल्पका रूपमा तरकारीखेतीतर्फ आकर्षित भएका हौँ।’
ब्रुसवाङवासीले लगाएका मकै तथा तरकारी ।
‘एक त समयमा मल तथा बिउबिजन पाइँदैन, बजारमा पाए पनि गाउँसम्म ल्याउन निकै मुस्किल छ। भिरको जमिनमा खेती गर्न उत्तिकै दुःख छ। त्यसमाथि दुःखले फलाएका कृषिजन्य उत्पादनले उचित बजार र मूल्य पाउन सकेका छैनौँ,’ उनले भने, ‘एक हलको मेलोमा काँक्रो लगाएको छु। लटरम्मै फलेको छ। मेरो मात्र होेइन, गाउँमा धेरैले लगाएका छन्। बजार पु¥याउँदा प्रतिकेजी १५ रुपैयाँ आउँछ। १० रुपैयाँ गाडी भाडा लाग्छ। गाडी आउने ठाउँसम्म बोकेर पु¥याउन आधा घण्टा लाग्छ। बिउबिजन, मल र हाम्रो दिनभरिको दुःख–पसिनाको हिसाब गर्ने हो भने फाइदा होइन, उल्टै नोक्सान छ। कहिलेकाहीँ मात्र अलिअलि फाइदा हुन्छ, नभए जहिल्यै नोक्सान व्यहोर्नुपर्छ।’
बस्ती स्थानान्तरणको आस मात्रै
०७२ वैशाखको विनाशकारी गोरखा भूकम्पले ब्रुसवाङलाई थिलथिलो बनायो। बस्तीमा ठुल्ठुला धाँजा फाटे। भौगर्भिक अध्ययन टोलीले ब्रुसवाङबस्ती मानव बसोवासका लागि असुरक्षित र अयोग्य रहेको प्रतिवेदनसमेत निकाल्यो। तर, न बु्रसवाङवासी अन्यत्र सर्न चाहे, न सरकारले सुरक्षित स्थानमा स्थानान्तरण नै गर्न सक्यो।
त्यतिवेला सरकार र विभिन्न निकायबाट बस्ती स्थानान्तरण गर्ने ठुल्ठुला हल्ला, सल्लाह र छलफल गरिए। बु्रसवाङका नागरिकको मतले यसै क्षेत्रबाट बागमती प्रदेशमा निर्वाचित दुईजना राजेन्द्र पाण्डे र शालिकराम जम्कट्टेल मुख्यमन्त्रीसम्म भए। स्थानीय सरकारमा पनि फेरिएर नयाँ जनप्रतिनिधि आए। तर, भूकम्प गएको एक दशक बित्दा पनि ब्रुसवाङवासीले सुरक्षित ठाउँमा स्थानान्तरण हुन पाएनन्।
नयाँ पुस्ताले अन्यत्र जान सहमत भए पनि पुराना पुस्ताले वर्षौँदेखिको थातथलो छाड्न नचाहेको ५० वर्षीय पूर्णबहादुर चेपाङ बताउँछन्। ‘समस्याको भुमरी र चपेटामा कष्टकर जिन्दगी जिउँदै आएका छौँ। हाम्रो पुस्ताको जीवन त उत्तराद्र्धतिर पुगिसक्यो। तर, हाम्रा भावी पुस्ताले यो सास्ती र समस्या भोग्न नपरोस्। गाउँमै खानेपानी, गाउँमै विद्यालय, स्वास्थ्य संस्था र सडक सञ्जाल आयो भने हामी यहीँ जन्मियौँ, खुसीले यहीँ मर्न तयार छौँ,’ पूर्णबहादुर थप्छन्, ‘जनप्रतिनिधिहरूले चासो दिइरहेका छन्। अहिले विभिन्न संघसंस्थाले स्थानीय सरकारसँग समन्वय गरेर काम गरिरहेका छन्। गाउँमा खानेपानी, सडक तथा अन्य सेवाहरू पनि छिट्टै गाउँ आइपुग्नेछन् भन्ने हाम्रो विश्वास छ। त्यही आशाले अहिले हामी खुसी बनेका छौँ।’
समस्या समाधानमा स्थानीय सरकारको चासो
समस्या नै समस्याको चाङमा अत्यासलाग्दो जिन्दगी बिताइरहेका ब्रुसवाङवासी अझै पनि एउटा सुन्दर र उज्यालो भविष्यको पर्खाइमा छन्। उनीहरूले भोगेका खानेपानी, शिक्षा, स्वास्थ्य र भोकमरीका समस्याहरू वास्तवमै हृदयविदारक छन्। बु्रसवाङवासीका समस्या समाधान गर्न स्थानीय सरकारले पनि चासो दिइरहेको छ।
आगामी मंसिरसम्म घरआँगनमै स्वच्छ खानेपानी पु¥याउने गरी काम भइरहेको बेनीघाट रोराङ गाउँपालिका– २ का वडाध्यक्ष हेमराज भुजेलले बताए। ‘बु्रसबाङ भौगोलिक बनावट र विकासले पछि परेको क्षेत्र हो। तर, हामीले गाउँमै खानेपानी पु¥याउने, घरआँगनसम्म सडक पु¥याउने, विद्यालयको स्तरोन्नति गर्ने र स्वास्थ्य संस्था स्थापना गर्नेजस्ता कामहरू अगाडि बढाइरहेका छाैँ। यहाँका समस्या क्रमिक रूपमा छिट्टै समाधान हुन्छन्,’ उनले भने। भुजेलका अनुसार बाङकुर्ति खोलाको पानी लिफ्टिङ गरेर गाउँमा ल्याउने योजना छ।
बारीमा फलेको काँक्रो बिक्रीका लागि बजार झार्दै ब्रुसबाङवासी ।
‘विभिन्न संघसंस्थासँग समन्वय गरेर वर्षौँदेखिको यो खानेपानी समस्या समाधान गर्न काम भइरहेको छ,’ उनले भने, ‘खानेपानीमा २० लाख, विद्यालय भवन निर्माणमा ४० लाख, सामूहिक किवीखेतीमा पनि सहयोग मिलेको छ। ब्रुसबाङमा अहिले शिशु कक्षा र एक कक्षासम्म मात्र पढाइ हुने भए पनि अन्यत्र गएर पढ्ने बालबालिकालाई गाउँपालिकाले छात्रावासको व्यवस्था गरेर पढाइएको छ। गाउँनजिकै सडक सञ्जाल जोड्न ४० लाख रकमको काम भएको छ।’
त्यस्तै, बु्रसवाङलाई विकाससँग जोड्न थुप्रै काम भइरहेको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया(विवेक)ले बताए। ‘हरेक वर्ष बु्रसवाङलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याइएको छ। बु्रसवाङलाई सडक सञ्जालसँग जोड्न, गाउँमै खानेपानी ल्याउन, शिक्षा, स्थास्थ्य, कृषिजन्य उत्पादनलाई जोड दिँदै काम भइरहेका छन्,’ उनले भने, ‘विगतका समस्याका चाङलाई हामीले बिर्सन हँुदैन। ५÷१० वर्षअगाडिका ती अत्याश र कहाली लाग्दा समस्या पार गरेर आएका हौँ। अहिले गाउँमा बत्ती बल्यो, यो वर्ष पानी आउँछ। स्वास्थ्यचौकी भवन बन्यो, विद्यालय भवन बन्ने चरणमा छन्। सुन्दर बु्रसवाङलाई व्यवस्थित गरेर स्थानीयको दैनिकी सहज बनाउन र आयआर्जन बढाउन स्थानीय सरकार लागिरहेको छ।’
स्थानीय शिव चेपाङ भन्छन्, ‘गाउँमा विजुली आएको करिव चार वर्ष भयो। पहिले अरूले दियो भने खाने भन्ने थियो। अहिले हामीले कृषि तालिम लिएका छौँ। अरूले दिएको खान नपरोस्, आफूले उब्जनी गरेर खाऔँ भन्ने बानी प¥यो। हिले एक पोका नुनतेलमा लागेका रहेछौँ। कसले देला भन्ने लाग्थ्यो। अहिले आफैँ मिहिनेत गर्न थालेका छौँ। गाउँमै तरकारी तथा फलफुल फलाएका छौँ। बारीमा फलेको अन्नबालीले नपुग्दा तरकारी बेचेर रासन किन्न सहयोग मिलेको छ।’