सात वर्षदेखि हुन नसकेको १४औँ दक्षिण एसियाली खेलकुद (साग)को नयाँ मिति घोषणा भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको शनिबार र आइतबार दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी)को बैठकले प्रतियोगिता आगामी २० देखि २८ चैतसम्म आयोजना हुने टुंगो लगाएको हो । सन् २०१९ मा पाकिस्तानले नेपालबाट १४औँ संस्करण आयोजनाको झन्डा बोकेर गएको थियो ।
यो अवधिमा कोभिड–१९ ले साग आयोजना धकेलिएको थियो । भारत र पाकिस्तानबिचको आपसी टकरावका कारण प्रतियोगिता पूर्वनिर्धारित समयमा हुन सकेन । यद्यपि, भारतले सागभन्दा पनि अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामाथि ध्यानकेन्द्रित गरेको देखिन्छ । उसले ओलम्पिक, कमनवेल्थ र एसियाडजस्ता खेलकुदमा आफ्ना खेलाडीलाई तयारीमा ध्यान दिएको छ । दुई देशको सम्बन्ध राम्रो नहुँदा एक–अर्का देशमा कुनै पनि खेल खेल्ने गरेका छैनन् ।
अहिले सागको मिति घोषणा हुँदा भारतले पाकिस्तानमा गएर खेल्ने सम्भावना कम देखिन्छ । सागको नियमअनुसार प्रत्येक दुई वर्षमा प्रतियोगिता हुनुपर्छ । तर, पाकिस्तानले सात वर्षको समय पाउँदा पनि प्रतियोतिगा हुने अन्तिम मिति घोषणा गर्न सकिरहेको थिएन । यसपटक इस्लामाबादमा भएको एसएओसीको बैठकले प्रतियोगिताको मिति घोषणा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी)ले जनाएको छ । बैठकले १४औँ सागमा २८ खेलका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।
नेपालबाट नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य र राष्ट्रिय खेलकुद परिषद् (राखेप)की सदस्य सिक्का सुवाल श्रेष्ठले भाग लिएका थिए । यसपटक घोषित मितिमा साग खेलकुद हुने बंैठकमा सहभागी भएकी सुवालले इस्लामाबादबाट नयाँ पत्रिकालाई जानकारी दिएकी छिन् । ‘अब बैठकले फेरि नयाँ मिति नतोक्ने गरी प्रतियोगिताको मिति टुंग्याएको हो,’ सुवालले भनिन्, ‘हामीलाई आशा छ, यसपटक पाकिस्तानले बैठकले निर्णय गरेको मितिमै साग सफलतापूर्वक आयोजना गर्नेछ ।’
बैठकले आयोजक पाकिस्तानसँगै भारत, बंगलादेश, भुटान, श्रीलंका र माल्दिभ्सका एनओसी प्रतिनिधित्वले सहभागिता जनाएका थिए । दुई दिनसम्म चलेको बैठकपछि मिति टुंगो लागेको श्रेष्ठले बताइन् । यसअघि १४औँ साग सन् २०२३ मार्चमा गर्ने तय भएको थियो । त्यसपछि २०२४ मार्चमा नयाँ मिति तोकियो । पाकिस्तानले तेस्रोपटक पुनः सन् २०२६ जनवरीमा साग गर्ने भन्यो ।
बारम्बार साग खेलकुदको मिति घोषणा हुने, तर प्रतियोगिता आयोजना नहुँदा श्रीलंका र बंगलादेशले आयोजना गर्ने दाबी गरेका थिए । यद्यपि, पाकिस्तानले भने १४औँ साग आफ्नो देशमै गराउने अडान राख्दै आएको थियो । उसले वर्षको अन्तरालमा अब भने चौथोपटक नयाँ मिति तोकेको छ । यसअघि पाकिस्तानले सन् १९८९ र २००४ मा इस्लामाबादमा सागको आयोजना गरेको थियो । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स गरी सात राष्ट्रको सहभागिता रहनेछ ।
श्रेष्ठको संयोजकत्वमा आयोजना तयारी समिति
एनओसीका अध्यक्ष श्रेष्ठलाई १४औँ सागको आयोजना तयारी समितिको जिम्मेवारी दिइएको छ । इस्लामाबादमा भएको बैठकले उनलाई यो जिम्मेवारी प्रदान गरेको हो । यो समितिले आगामी तीन महिनाभित्र निर्देशिका बनाउनेछ । त्यसको तीन महिनापछि प्रतियोगिता आयोजनाको तयारी गर्नेछ । समितिमा नेपालसँगै बंगलादेश र भुटानका प्रतिनिधि पनि छन् । यस्तै, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)का एक सदस्य पनि रहनेछन् ।
२८ खेल समावेश हुने
पाकिस्तानमै भएको बैठकले १४औँ सागमा विभिन्न २८ खेल समावेश गर्ने निर्णय गरेको छ । समावेश गरिने खेलमा एथलेटिक्स, पौडी, आर्चरी, ब्याडमिन्टन, बास्केटबल (३ एक्स ३, ५ एक्स ५०, बिलियर्ड एन्ड स्नुकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल (बिचसहित), हक्की, जुडो, कबड्डी, कराँते, रोबिङ, रग्बी सेभेन्स, सुटिङ, स्क्वास, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल (बिचसहित), भारोत्तोलन, कुस्ती र उसु रहेको कार्यकारी सदस्य श्रेष्ठले जानकारी गराइन् ।
दसौँ राष्ट्रिय खेलकुदको प्रारम्भिक छनोट
१४औँ सागको नयाँ मिति घोषणासँगै सरकारले पनि तयारी सुरु गर्ने भएको छ । राखेपको कार्यकारी समिति सदस्य सुवालले कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुदबाट सागका लागि खेलाडी छनोट हुने बताइन् । ‘सरकार अब १४औँ सागको तयारीमा लाग्छ । कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदबाट सागका लागि प्रारम्भिक खेलाडी छनोटको आधार बन्नेछ,’ उनले भनिन् । सरकारले पनि चौथोपटक स्थगित भएको दसौँ राष्ट्रिय खेलकुद आगामी १६ देखि २९ मंसिरसम्म कर्णालीमा आयोजना गर्दै छ । त्यसका लागि पूर्वाधारसमेत तयारी अवस्थामा छ । सरकारले सुर्खेतसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा विभिन्न खेल आयोजना गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेशमा आयोजना नहुने सुटिङजस्ता खेल भने काठमाडौंमै आयोजना गर्ने तयारी पनि सरकारको रहेको छ ।
मिति परिवर्तन हुँदैन
सिक्का सुवाल श्रेष्ठ, सदस्य, राखेप
इस्लामाबादमा भएको बैठकले १४औँ सागको नयाँ मिति टुंग्याएको छ । यसपटक २८ खेलको पनि टुंगो लागेको छ । जसमध्ये तीन खेलमा पुरुष टोली मात्रै हुनेछन् । सागमा बाँकी २५ खेलमा महिला तथा पुरुष टिमकै सहभागिता हुनेछ । अबको तीन महिनामा निर्देशिका पारित हुनेछ । त्यसको तीन महिनामा प्रतियोगिता नै तयार गर्ने विषय पारित हुनेछ । अब, पाकिस्तान सरकारले सबै पूर्वाधार समयमै सके प्रतियोगिता यो मितिबाट सर्दैन । सरकारले पनि आफ्नो तयारी सुरु गरिहाल्छ ।