प्रधानमन्त्री शाह पोखरामा, शनिबार हेलिकाेप्टरमार्फत मुस्ताङ जाने
प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पोखरा आइपुगेका छन्। सडकमार्ग हुँदै पोखरा आएका प्रधानमन्त्री बस्नका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिका– ६, अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा पुगेका छन्। आफैँ गाडी चलाएर आएका प्रधानमन्त्रीको टोलीमा सुरक्षाकर्मीबाहेक परिवारका सदस्य र अन्य गरी १० जना छन्।
शुक्रबार भिलेजमा बसेर शनिबार बिहान हेलिकोप्टरमार्फत प्रधानमन्त्रीको टोली मुस्ताङ जाने कार्यक्रम रहेको स्रोतले बताएको छ। प्रधानमन्त्रीको भ्रमणबारे कास्कीसँगै मुस्ताङ प्रहरी प्रशासनलाई औपचारिक जानकारी भने छैन। मुस्ताङ पुगेर शनिबार प्रधानमन्त्रीको टोलीले प्रसिद्ध धार्मिक एवं पर्यटकीय तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्ने बताइएको छ। मुस्ताङमा अन्य कार्यक्रम छ–छैन भन्नेबारे थप जानकारी सार्वजनिक गरिएको छैन।
नेपाल–भारतबिच संयुक्त कार्य समूहको बैठक सम्पन्न, सीमा अतिक्रमणलगायत विषयमा छलफल
नेपाल र भारतबिच संयुक्त कार्य समूह (जेडब्लुजी)को १४औँ बैठक सम्पन्न भएको छ। बैठकमा सीमापार अपराध नियन्त्रणदेखि सीमा अतिक्रमणसम्मका विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ।
भारतको देहरादुनमा सम्पन्न बैठकमा नेपालको तर्फबाट गृह मन्त्रालका सहसचिव आनन्द काफ्लेले प्रतिनिधित्व गरेका थिए। त्यस्तै, भारतको तर्फबाट गृह मन्त्रालयका सहसचिव पौसुमी बासुले नेतृत्व गरेकी थिइन्।
बलात्कार मुद्दामा गलत प्रतिवेदन बनाउने दुई चिकित्सक सर्वाेच्च अदालतबाट पनि दोषी ठहर, तीन महिना कैद
जबर्जस्ती करणी मुद्दामा गलत स्वास्थ्य प्रतिवेदन बनाएको अभियोग लागेका दुई चिकित्सकलाई सर्वाेच्च अदालतले पनि दोषी ठहर गरेको छ। भ्रष्टाचारसम्बन्धी कसुरमा डा. विजयकुमार सिंह र डा. रम्भा गोइतलाई सर्वाेच्चले दोषी ठहर गरी तीन–तीन महिना कैद सजाय तोकेका हो ।
०७५ सालमा धनुषामा बलात्कारमा परेकी एक १२ वर्षीया बालिकको स्वास्थ्य परीक्षण प्रतिवेदन गलत बनाएको र ११ दिनसम्म रोकेर राखेको विषयमा त्यसवेला नै मेडिकल काउन्सिलले उनीहरूलाई कारबाही गरेको थियो।
तीन वर्षीया नाबालिकाको हत्या भएको विरोधमा सिमराबजारमा भएको आन्दोलनका कारण रोकिएका १२० वटा ग्यास बुलेट प्रहरीको स्कर्टिङमा छुटेका छन्।
काठमाडौं, चितवन र पोखराका बजारमा ग्यास वितरण गर्ने उद्योगका लागि आएको ग्यास बिचबाटोमै रोकिँदा वितरणमा समस्या आएको थियो। तर, शुक्रबार दिउँसो सबै बुलेट छुटेकाले रातिसम्म धादिङ, काठमाडौं, चितवन र पोखराका उद्योगमा बुलेट पुग्ने आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए।
‘सिमरामा रोकिएका सबै बुलेट प्रहरीको सहयोगमा छुटेका छन्। रातिसम्म सम्बन्धित उद्योगमा पुग्छन्। शनिबार र आइतबारको बिदामा समेत उद्योग खोलेर ग्यास वितरण गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘उद्योगी पनि बिदा नभनी शनिबार र आइतबार ग्यास वितरण गर्न राजी भएका छन्।’
४८ करोड कर्जा हिनामिनामा एसियन रिसोर्टका सञ्चालकसहित सातजनाविरुद्ध मुद्दा दायर
बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा सातजनाविरुद्ध बैंकिङ कसुर मुद्दा दायर भएको छ । प्रभु बैंकका सात कर्मचारी तथा एसियन भिलेज रिसोर्ट प्रालिका दुई सञ्चालकविरुद्ध बिहीबार उच्च अदालत, पाटनमा मुद्दा दायर भएको हो ।
रिसोर्टका सञ्चालक शशिधर शर्मा र उनका भाइ शिशिर पौडेलले रिसोर्ट स्थापनाका लागि भनेर बैंकबाट ४८ करोड रुपैयाँ लिएकोमा सो पैसा कम्पनीमा खर्च नगरी परिवारका विभिन्न व्यक्तिको खातामा रकमान्तर गरेर दुरुपयोग भएको थियो । सिआइबीले रिसोर्टका सञ्चालकद्वयलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
मोबाइलमा ठुलो स्वरमा बोलेको निहुँमै सहकर्मीको हत्या
मोबाइल फोनमा ठुलो स्वरमा कुरा गरेको भन्दै आफ्नै सहकर्मीले धारिलो हतियार प्रहार गर्दा बागलुङमा एक युवकको ज्यान गएको छ। ढोरपाटन नगरपालिका– ७ घर भई वडा नं. ५ बस्ने ३६ वर्षीय अशोक खत्रीको सामान्य विषयकाे विवादमा ज्यान गएकाे हाे।
काठेखोला गाउँपालिका– ३, माझकटेराका देवेन्द्र खत्रीको घरमा ओखरको बिरुवा रोप्नका लागि खाडल खन्न आएका ढोरपाटन– ५ का २५ वर्षीय अर्जुन घर्तीमगर र ३६ वर्षे रिखे दमाईंले खत्रीकाे हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिए।
सुदूरपश्चिम सरकारले पायो पूर्णता, तीन मन्त्री र दुई राज्यमन्त्री थपिए
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। मुख्यमन्त्री भट्टले नेपाली कम्युनिस्ट पार्टीबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन्।
भौतिक पूर्वाधार विकासमन्त्रीमा ओमविक्रम भाट सरल, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमा प्रकाश रावल, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा खुसीराम डगौरा नियुक्त भएका छन्। त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा इन्दिरा गिरी र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा जानकी कुँवर नियुक्त भएका छन्।
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्थानीय तहलाई परिपत्र
आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तहमातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापनसम्बन्धी विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा पठाएको हो।
सुधारगृहबाट १७ वर्षीय युवक चार दिनदेखि फरार
वीरगन्ज महानगरपालिका– ४, बिर्तास्थित रहेको बाल सुधारगृहबाट फरार भएका युवक चार दिन बितिसक्दा पनि फेला नपरेको प्रहरीले जनाएको छ । लागुऔषध कसुरमा अदालतको फैसलापछि बाल सुधारगृहमा राखिएका १७ वर्षीय युवक गत मंगलबार बिहान साढे ५ बजे फरार भएर अहिलेसम्म फेला नपरेको अवस्था छ।
पर्सा प्रहरीका प्रवक्ता डिएसपी चक्र मल्लका अनुसार सर्लाहीको गोडैता नगरपालिका घर भएका ती युवक मंगलबार बिहान करिब साढे ५ बजे सुधारगृहको पछाडितर्फ रहेको झ्यालबाट हाम फालेर फरार भएका थिए।
मुख्यमन्त्री थापाको विश्वासको मत लिने मिति संशाेधन, भदौ ८ गते विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने मिति एक दिन सारिएको छ । यसअघि भदौ ७ गते आइतबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री थापाले अब भदौ ८ गते सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका हुन् ।
मुख्यमन्त्री थापाले प्रदेश सभा सचिवालयलाई पुनः पत्राचार गर्दै विश्वासको मत लिने मिति संशोधन गरी भदौ ८ गते दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाउन आग्रह गरेका हुन् । यसअघि सचिवालयले भदौ ७ गतेका लागि बैठक आह्वान गरिसकेको थियो ।