धादिङको गजुरी गाउँपालिका– २, चालिसेस्थित पृथ्वी लोकमार्गमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
आज बिहान करिब ५:४५ बजे सडकमाथिबाट सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो। पहिरोका कारण दुवैतर्फबाट हुने सवारी आवागमन प्रभावित भएको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतको कमान्डमा ट्राफिक प्रहरीसहित ६ जनाको टोली घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने कार्य गरिरहेको जनाएको छ।
सडक खुलाउने काम भइरहेकाले उक्त मार्ग भएर यात्रा गर्ने सवारीचालक तथा यात्रुलाई आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।