जाजरकोटका बाढीपीडितलाई कर्णाली प्रदेश सरकारको राहत

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण

जाजरकोटको भेरी नगरपालिका– २, रिसाङमा गएको पहिरोबाट विस्थापित तथा विपतकाे सामना गरिरहेका परिवारका लागि कर्णाली प्रदेश सरकारले आपतकालीन राहत सामग्री पठाएको छ। 

मुख्यमन्त्री मंगलबहादुर शाहीको निर्देशनमा पहिरो प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा गैरखाद्य सामग्री पठाइएको हो। पहिरोका कारण घर तथा बस्ती जोखिममा परेपछि सुरक्षित स्थानमा स्थानान्तरण गरिएका नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न राहत सामग्री पठाइएको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारबाट पठाइएको राहत सामग्रीमा चामल चार क्विन्टल, चिउरा ५० केजी, त्रिपाल १५० थान, प्लास्टिक रोल दुई, पिफर्म टेन्ट २० थान र ब्लांकेट १८५ थान रहेका छन्।

राहत सामग्री विपतबाट प्रभावित तथा विस्थापित परिवारको आवश्यकता र अवस्थालाई मध्यनजर गर्दै पठाइएको प्रदेश सचिव लक्ष्मीकुमार विकले जानकारी दिए। उनका अनुसार विपतका कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु प्रदेश सरकारको प्राथमिकता भएकाले आवश्यकताअनुसार थप सहयोग र समन्वय गरिनेछ।

भेरी नगरपालिका– २, रिसाङमा पछिल्लो समय गएको पहिरोका कारण ठुलो संख्यामा नागरिक प्रभावित भएका छन्। पहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएपछि उनीहरूको खाद्यान्न, आवास तथा स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्थानीय तह, जिल्ला प्रशासन तथा सुरक्षा निकायले उद्धार र राहतका कामलाई निरन्तरता दिइरहेका छन्।

प्रदेश सरकारले विपत् प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप राहत तथा सहयोग उपलब्ध गराउने जनाएको छ।

सुझावित समाचार