वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलको निधन

मंगलबार, २६ साउन, २०८३
डिजिटल संस्करण

वरिष्ठ साहित्यकार, भाषाविद् तथा प्राध्यापक डा. राजेन्द्रप्रसाद विमलको निधन भएको छ। उनको जनकपुरधाम प्रादेशिक अस्पतालमा उपचारका क्रममा सोमबार राति करिब १ बजे निधन भएको हो। निधनपछि उनको पार्थिव शरीर जनकपुरधामस्थित देवीचोकमा रहेको निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ।

वि.सं. २००४ साउनमा धनुषाको देवडिहानजिकै खिरखिरिया गाउँमा जन्मिएका डा. विमल नेपाली, मैथिली र हिन्दीमा स्नातकोत्तर थिए भने भाषाविज्ञान विषयमा पिएचडी उपाधि हासिल गरेका थिए। उनी रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब), जनकपुरधामको नेपाली विभागबाट प्राध्यापन सेवाबाट अवकाश प्राप्त भएका थिए।

मैथिली विकास कोष, जनकपुरधामका संस्थापक अध्यक्षसमेत रहेका डा. विमलको पहिलो कथा १५ मार्च १९६३ मा ‘मिथिला मिहिर’ पत्रिकामा प्रकाशित भएको थियो। त्यसयता उनी निरन्तर कथा, कविता, नाटक, गजल, उपन्यास, समालोचना तथा बालसाहित्यलगायत विभिन्न विधामा सक्रिय रहे ।

उनका प्रमुख कृतिहरूमा ‘ई हमरे कथा थिक’, ‘इतिहासक घाओ’, ‘बौआक पोथि’, ‘सुरुज उगवासँ पहिने’ (गजलसंग्रह), ‘डा. विमलका कथाहरू’, ‘सरबरिआ गाउँको कथा’ र ‘फिस्टी रानी’लगायतका रहेका छन्। उनका रचनाहरू गोरखापत्र, मधुपर्क, गरिमालगायतका पत्रपत्रिकामा समेत प्रकाशित छन्।

डा. विमलले नेपाल टेलिभिजनबाट प्रसारित ‘हंसा चलल परदेश’ टेलिफिल्ममार्फत पनि साहित्यिक योगदान दिएका थिए। उनी विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट सम्मानित हुनुका साथै पहिलोपटक नेपाल विद्यापति भाषा साहित्य पुरस्कार प्राप्त गर्ने व्यक्तित्वसमेत हुन्। गरिमा, जगदम्बा सम्मान, राष्ट्रिय प्रतिभा, सिद्धि श्रीलगायतका प्रतिष्ठित सम्मानबाट उनी पुरस्कृत भएका थिए ।

चार दशकभन्दा बढी प्राध्यापन, सिर्जना र साहित्यिक नेतृत्वमा सक्रिय डा. विमललाई मैथिली साहित्यका उज्ज्वल नक्षत्रका रूपमा लिइन्छ। उनको निधनले नेपाली तथा मैथिली साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकारहरूले बताएका छन्।

जात, धर्म, मधेशी वा पहाडीभन्दा माथि उठेर आफूलाई सधैँ ‘एक नेपाली’का रूपमा परिचित गराउने डा. विमलको निधनले जनकपुरधाम शोकमग्न बनेको छ। उनको योगदानलाई नेपाली र मैथिली साहित्यले सधैँभरि सम्झिरहनेछ ।

See More On

सुझावित समाचार