४५ महिना कैद भुक्तान गरी छुटेको चार महिनामै पुनः लागुऔषधसहित पक्राउ

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण

लागुऔषधको मुद्दामा ४५ महिना कैद भुक्तान गरी छुटेको चार महिनामै एक व्यक्ति पुनः लागुऔषधसहित पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले शनिबार ललितपुर महानगरपालिका– १ का २९ वर्षीय प्रज्वल केसीलाई ११० ग्राम ३५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

यसअघि पनि खैरो हेरोइनसहित पक्राउ परी २०७९ भदौ २ गते कारागार चलान भएका केसी २०८२ चैत १९ गते छुटेका थिए।

लागुऔषध मुद्दामा पक्राउ परी कारागारबाट छुटेपछी पुनः लागुऔषध कारोवारमा संलग्न हुने व्यक्तिहरुको प्रोफाइलिङ गर्ने क्रममा उनी पक्राउ परेका ब्युरोले  जनाएको छ। उनको साथबाट ब्युरोले लागुऔषध तौल गर्ने डिजिटल तराजु, १ थान र कारोवारमा प्रयोग गर्ने फरकफरक सिमसहितको पाँच थान मोबाइल बरामद गरेको छ।

ब्युराेका अनुसार केसीले लागुऔषध कारोवार गर्दा पक्राउबाट बच्न तथा ग्राहकको पहिचान गर्न आफ्नो घरमा चार वटा सिसि क्यामेरा, २ वटा कुकुर र कारोबार गर्ने बेडरुमसम्म पुग्न तीन वटा फलामको गेट राखेका थिए।
 

सुझावित समाचार