शुक्रबार १० बजेसम्मको प्रमुख १० खबर

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

डिआइजीसहित एक हजार आठ सय प्रहरीमाथि विभागीय कारबाही

नेपाल प्रहरीले एक वर्षमा एक हजार ८४८ जनालाई विभागीय कारबाही गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार कारबाहीमा पर्नेमा नायब महानिरीक्षक (डिआइजी) तहका प्रहरीसमेत छन्। 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक विवरणअनुसार आर्थिक वर्ष ०८२/८३ मा एक डिआइजी, दुई एसएसपी, तीन एसपी, तीन डिएसपी र ३३ जना इन्स्पेक्टरमाथि कारबाही भएको छ। 

अदालतमा विशेष महाधिवेशनको वैधानिकता पुनः पुष्टि गर्न तयार छौँ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो नेतृत्वमा सम्पन्न विशेष महाधिवेशन पार्टी विधानअनुसार भएको भन्दै त्यसको वैधानिकता अदालतसमक्ष पुनः पुष्टि गर्न आफूहरू तयार रहेको बताएका छन्।

शुक्रबार पार्टीनिकट आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै थापाले विशेष महाधिवेशन पार्टी विधानले दिएको अधिकारअनुसार सम्पन्न भएको दाबी गरे। उनले उक्त महाधिवेशनको वैधानिकता यसअघि नै महाधिवेशन, निर्वाचन आयोग तथा सर्वोच्च अदालतको इजलासबाट पुष्टि भइसकेको उल्लेख गर्दै अदालतले पुनः पुष्टि गर्न भनेको सन्दर्भलाई आफूहरूले अर्को अवसरका रूपमा लिएको बताए।

५८ वर्षपछि रोहिणीका बासिन्दाले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

रुपन्देही जिल्लाको रोहिणी गाउँपालिकाअन्तर्गत साबिक बोधबार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम भएकोमा २७१ वटा लालपुर्जा आज सम्बन्धित जग्गाधनीलाई वितरण भएको छ।

दशकौँदेखि आफ्नो जग्गाको कानुनी स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा रहेका स्थानीय बासिन्दाका लागि यो वितरण ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

भदौमा पुनः आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै आगामी भदौमा पुनः आन्दोलन गर्ने घोषणा गरेको छ।

महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले यसअघिको आन्दोलनभन्दा ठुलो र व्यापक आन्दोलन गर्ने निर्णय गरेको हो। शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन, शैक्षिक सुधार र पेसागत माग सम्बोधनका लागि आन्दोलन गर्न लागिएको जनाएको छ।

कस–कसले जिते करदाता प्रोत्साहन पुरस्कार ?

सरकारले बजेटमार्फत घोषणा गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो १५ दिनको नतिजा शुक्रबार सार्वजनिक गरिएको छ।

साउन १ देखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा कारोबार गरी विभागको प्रणालीमा बिल पेस गरेका उपभोक्तामध्येबाट विजेता घोषणा गरिएको हो।

पशुपक्षीसम्बन्धी औषधिको अवैध कारोबार, सचेत रहन आधिकारिक वितरकको आग्रह

पशुपक्षीसम्बन्धी औषधिको अवैध आयात र बिक्री भइरहेको पाइएपछि आधिकारिक बिक्रेता कम्पनीले सचेत गराएको छ। कान्तिपुर भेट डिष्ट्रिब्युटर्सले आयात तथा बिक्री गर्दै आएका भेटमुलिन ८०% तथा भेन्कामाइसिन २५% को नक्कली प्याकिङ गरी  अनधिकृत बिक्री–वितरण भइरहेको हो। 

कान्तिपुर भेटले सूचना जारी गरी कम्पनीसँग मिलान तथा प्रमाणीकरण गरेर मात्र यस्ता औषधिको बिक्री–वितरण गर्न भनेको छ। ‘सम्पूर्ण बिक्रेता तथा सरोकारवालाहरूलाई उक्त औषधिहरु खरिद गर्दा आधिकारिक विक्रेता कान्तिपुर भेट डिष्ट्रिब्युटर्स प्रालिसँग मिलान तथा प्रमाणीकरण गरी मात्र खरिद तथा बिक्री–वितरण गर्न अनुरोध छ,’ कम्पनीले भनेको छ, ‘यस सूचनाको बेवास्ता गरी बजारमा उपलब्ध नक्कली औषधि खरिद वा बिक्री–वितरण गरेमा त्यसबाट उत्पन्न हुने समस्याको सम्पूर्ण जिम्मेवारी सम्बन्धित खरिदकर्ता तथा विक्रेता स्वयंले वहन गर्नुपर्नेछ।’ 

रास्वपा सांसदको आरोप– दिल्लीको नुन खाएर विपक्षीले सीमाको विषय उठाए

सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिमा विपक्षी दलले प्रश्न उठाएपछि सत्तारूढ दल रास्वपाका सांसद सुरेन्द्र चौधरीले दिल्लीको नुन खाएर बोलेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद चौधरीले दिल्लीको संसदमा उठ्नुपर्ने विषय नेपालको संसदमा उठाएको भन्दै यस्तो आरोप लगाएका हुन्।

सरकारको नियतमा शंका छैन, तर ढंग सुधार्नुपर्छ : मनीष झा

रास्वपा सांसद मनीष झाले कतिपय कुराहरूमा सरकारको ढंग नपुगेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा झाले सरकारको नियतमा शंका नभएको भन्दै ढंग भने सुधार्नुपर्ने प्रस्ट पारे।

राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास बढाउने लक्ष्यका साथ सबै पद्धतिलाई केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘अहिलेको कुरामा इन्टिग्रिटीमा कुनै पनि शंका छैन। इन्टेन्सनमा पनि कुनै प्रश्न छैन। तर, कताकता ढंग नपुगेको हो कि भन्ने लाग्छ। र त्यो स्विकार्नुपर्छ।’

कोइरालानिवास मर्मतका लागि छुट्याइएको दुई करोड रुपैयाँ नलिने डा. शेखर कोइरालाको निर्णय

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ०८२ साल भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको विराटनगरस्थित कोइरालानिवासको पुनर्निर्माण तथा मर्मतका लागि नेपाल सरकारले विनियोजन गरेको रकम नलिने निर्णय सार्वजनिक गरेका छन् । 

डा. कोइरालाले उक्त रकम स्वीकार गर्नु नैतिक रूपमा उपयुक्त नहुने उल्लेख गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बजेट फिर्तासम्बन्धी पत्रसमेत पठाएको जानकारी दिएका छन् । 

आइसिपीबाट भित्रिएको पेट्रोलियम ट्यांकरबाट तेल चोरी गर्दै गरेका सातजना पक्राउ

पर्साको वीरगन्ज महानगरपालिका– १४ स्थित बाइपास सडकखण्डमा आइसिपी जाँचपास गरी नेपाल प्रवेश गरेको पेट्रोलियम पदार्थ बोकेको ट्या‌ंकरबाट अनाधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सातजनालाई प्रहरीले ट्यांकरसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ५:१० बजे वीरगन्ज– १४ स्थित सौदागर आयल सेन्टरमा ना.७ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्या‌ंकरमा जडान गरिएको सिल फलामको पाइपको हुक प्रयोग गरी उचालेर अवैध रूपमा तेल निकालिरहेको अवस्थामा उनीहरूलाई रंगेहात पक्राउ गरिएको हो।

सुझावित समाचार