सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिमा विपक्षी दलले प्रश्न उठाएपछि सत्तारूढ दल रास्वपाका सांसद सुरेन्द्र चौधरीले दिल्लीको नुन खाएर बोलेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद चौधरीले दिल्लीको संसदमा उठ्नुपर्ने विषय नेपालको संसदमा उठाएको भन्दै यस्तो आरोप लगाएका हुन्।
‘प्रधानमन्त्रीजीले नेपालले पनि भूभाग मिचेको छ भनेको भनेर तपाईंहरू हाम्रो सार्वभौमिकता खोइ भन्नुहुन्छ। यो शब्द तपाईंहरूले कसका लागि बोलिराख्नु भएको छ ? दिल्लीको संसदमा उठ्नपर्ने हो नेपालले भूभाग मिच्यो भनेर। भारत सरकारको आपत्ति थियो भने भारत सरकारको संसद्ले बोल्ने कुरा प्रतिपक्षले किन बोल्छ बारबार ? हाम्रो घोर आपत्ति छ यसमा। कतै विगतमा नुन खाएको कुरा यहाँ उठाउनुभएको त होइन !’ उनले भने।
परराष्ट्रमन्त्रीले यसमा स्पष्टीकरण दिइसकेको उल्लेख गर्दै सांसद चौधरीले दुई महिनासम्म संसद्लाई अवरुद्ध गरेको भन्दै आपत्ति जनाए। विपक्षीको भाषाले कसैको हित नगर्ने भन्दै उनले त्यस्ता भाषा बन्द गर्न चेतावनी दिए।