पर्साको वीरगन्ज महानगरपालिका– १४ स्थित बाइपास सडकखण्डमा आइसिपी जाँचपास गरी नेपाल प्रवेश गरेको पेट्रोलियम पदार्थ बोकेको ट्यांकरबाट अनाधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सातजनालाई प्रहरीले ट्यांकरसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ५:१० बजे वीरगन्ज– १४ स्थित सौदागर आयल सेन्टरमा ना.७ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्यांकरमा जडान गरिएको सिल फलामको पाइपको हुक प्रयोग गरी उचालेर अवैध रूपमा तेल निकालिरहेको अवस्थामा उनीहरूलाई रंगेहात पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सौदागर आयल सेन्टरका सञ्चालक सुनैन मियाँ, पम्पमा लेखाको काम गर्ने असलम हवारी, क्यासियर रफिक मियाँ, ना.७ख २८०४ नम्बरको ट्यांकरका चालक केशरराम सुनार र सहचालक सन्देश रानामगर, साथै ना.७ख १५३९ नम्बरको ट्यांकरका चालक मन्दसिंह लामा र सहचालक उमेश रानामगर रहेका छन्।
प्रहरीले घटनामा प्रयोग भएका ट्यांकरहरू नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।