गृहमन्त्री सुधन गुरुङले संसद्को कुनै पनि सदनमा निर्मला पन्त प्रकरणको अनुसन्धानबारे प्रश्न नगर्न भनेका छन्। बिहीबार राष्ट्रिय सभामा नेकपा सांसद विष्णुबहादुर विश्वकर्माको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्रीले यस्ता संवेदनशील विषयमा संसदमा प्रश्न नगर्न आग्रह गरे।
आफू सत्तामा हुँदा किन केही नगरेको भनी प्रतिप्रश्न गर्दै गृहमन्त्रीले भने, ‘माननीयज्यूले उठाउनुभएको विषय एकदमै सेन्सेटिभ छ। यो प्रश्न म हजुरलाई नै गर्न चाहन्छु। हजुरहरू सत्तामा हुँदा किन नगर्नुभएको ? अहिले आएर हामीलाई भारी बोकाउँदै गर्दा मैले माननीयज्यूलाई के आग्रह गर्न चाहेँ भने– यो सेन्सेटिभ विषयलाई हामीले जहिले पनि एउटा आमाको घाउलाई कोट्याएको कोट्याई गर्ने, उहाँहरूलाई पीडा दिइराख्ने हो कि यसमा चरणबद्ध रूपमा सूक्ष्म तरिकाले अनुसन्धान गरेर रिजल्ट दिने हो ?’
यो विषयमा सरकारले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले संसदमा कुरा नउठाएर आफूलाई व्यक्तिगत रूपमा भेटेरै प्रश्न सोध्न आग्रह गरे।
‘यसमा म धेरै कुरा बोल्न सक्दिनँ, बोल्न उचित हुँदैन होला जस्तो लााग्छ। यो अनुसन्धानको विषय हो, यसमा हामीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँ। सम्पूर्ण माननीयज्यूहरूलाई अब प्रतिनिधिसभा र राष्ट्रिय सभामा यो प्रश्नचाहिँ नउठाइदिनुहुन म विनम्र रूपमा आग्रह गर्न चाहन्छु। कुनै यस्तो विषय छ भने मलाई व्यक्तिगत रूपमा आएर सोध्नुहोला।’