सार्वजनिक स्थानबाट सबैखाले झन्डा हटाउन सुनसरी प्रशासनको अपिल

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक स्थान तथा सडकखण्डहरूमा विभिन्न प्रयोजनका लागि राखिएका झन्डा–झन्डापताका हटाउन सार्वजनिक अपिल गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालले बुधबार सार्वजनिक सूचना जारी गर्दै जिल्लाका विभिन्न सार्वजनिक स्थान तथा सडकखण्डहरूमा विभिन्न समयमा राखिएका एकल जातीय, धार्मिक, साम्प्रदायिक तथा विशेष पहिचान जनाउने झन्डा–झन्डापताकाहरू आगामी तीन दिनभित्र हटाउन सम्बन्धित सबै पक्षसँग  अपिल गरेका हुन्।  

सार्वजनिक स्थानमा राखिएका धर्म र जातजातिका नाममा राखिएका झन्डा  सामग्री हटाउन अनुरोध गर्दै, पुनः त्यस्ता झन्डा र ध्वजापताकाहरू  नराख्न पनि आमनागरिकहरूलाई सुनसरी प्रशासनले अनुरोध गरेको छ। यसैगरी गत १० दिनदेखि  धार्मक र सामाजिक अवस्थाबारे फैलिरहेको भ्रामक हल्ला र घृणाहरू  हटाएर सार्वजनिक शान्ति, सद्भाव र सामाजिक सहअस्तित्व कायम राख्न सबै सरोकारवाला तथा स्थानीय तहसँग आवश्यक समन्वय र सहयोग गर्न पनि सुनसरी  प्रशासनले अनुरोध गरेको छ।  

१० साउन साँझ सुनसरीको देवानगन्ज गाउँपालिका– ३, कप्तानगज्ज बजारमा झन्डा राख्ने र हटाउने विवादबाट सुरु भएको इगो बोलबम यात्रामा जाने क्रममा डिजेबाजा बजाएर शान्ति बिथोलेको आरोप प्रत्यारोपमा स्थानीय दुई समुदायका युवाहरूबिच झडप हुँदा प्रहरीको गोली लागेर स्थानीय  तीनजना युवा ओमप्रकाश, जयप्रकाश र रवीन्द्र मेहताको मृत्यु भएको छ भने घाइते भएका सातजना युवा अझै अस्पतालमा उपचाररत छन् । 

सुनसरीको कप्तानगन्जबाट सुरु भएको तनावले धार्मिक साम्प्रदायिकताको रूप लिएर फैलिएपछि कोशी र मधेशका जिल्लाहरूमा पनि तोडफोड र आगजनीका घटना भएका थिए। सोही क्रममा मधेश प्रदेश सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर औरही गाउँपालिका– २, तुलसियाहनीका १५ वर्षीय किशोरको पनि मृत्यु भएको थियो। सुनसरीमा धार्मिक पर्व मनाउने क्रममा दुई फरक समुदाय हिन्दु र इस्लाम धर्मका युवाहरूबिच सार्वजनिक स्थानमा झन्डा राख्ने र हटाउने विवादमा पटकपटक झडप र विवादका घटनाहरू हुँदै आएका छन् । 
 

सुझावित समाचार