तरकारी बोकेको ट्रक त्रिभुवन राजमार्गबाट सय मिटर तल खस्दा एकको मृत्यु, चालक घाइते

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण

मकवानपुरको भीमफेदी गाउँपालिका– २, तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको डिब्बा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। चालक घाइते भएका छन् । मंगलबार राति करिब २:३० बजे पालुङबाट वीरगन्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई करिब एक सय  मिटर तल चण्डी खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनाबारे बिहान करिब ६:३० बजे सूचना प्राप्त भएपछि प्रहरी चौकी भैँसे र इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा ट्रकचालक मकवानपुरको राक्सिराङ गाउँपालिका– ९ निवासी २३ वर्षीय रञ्जित कार्की घाइते भएका छन्। उनको दायाँ खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको छ।

यस्तै, ट्रकमा सवार चालकका काका पर्ने राक्सिराङ– ९ कै अन्दाजी ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । अस्पतालमा बिहान करिब सवा नौ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

ट्रकमा चालक र अर्जुन कार्की मात्रै सवार रहेको प्रहरीकाे  भनाइ छ। दुर्घटनाको कारण वर्षासँगै परेको बाक्लो हुस्सु र चिप्लो सडक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

सुझावित समाचार