एनआइसी एसिया बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)को नेपालपे कार्डबाट हुने भुक्तानी प्राप्ति सेवा सुरु गरेको छ । यससँगै अब नेपालपे कार्डमार्फत भुक्तानी प्राप्ति सहज हुने बैंकले जनाएको छ । साथै, डिस्कभर नेटवर्कअन्तर्गत रुपे कार्डसहित अन्य अन्तर्राष्ट्रिय कार्ड पनि अब बैंकको एटिएम र पिओएस टर्मिनलमा प्रयोग गर्न सकिने बताइएको छ ।
यो नेपालपे कार्ड नेसनल पेमेन्ट स्विचअन्तर्गत सञ्चालनमा आएको नेसनल कार्ड स्किम हो । यसलाई नेपालमा एनपिएसमार्फत र अन्तर्राष्ट्रिय भुक्तानी पार्टनर डिस्कभर नेटवर्कमार्फत विश्वव्यापी रूपमा प्रयोग गर्न सकिनेछ ।
नेपालपे कार्ड सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्ड नेपाल तथा विदेशमा रहेका एटिएम र पिओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
साथै, अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्ड पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ । यस पहलले ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेको नेसनल कार्डको प्रवर्द्धन गर्नुका साथै डिजिटल रूपान्तरणमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।