सप्तकोशीको तटीय क्षेत्रमा पर्ने श्रीलंका टापु सधैं जोखिममा पर्ने गरेको छ । सप्तकोशी नदीले करिब पाँच दशकअघि धार परिवर्तन गरेपछि बनेको श्रीलंका टापु हो । हाल सुनसरीको वराहक्षेत्र नगरपालिका– ६ र ९ तथा उदयपुरको बेलका नगरपालिका– १, २ र ३ मा फैलिएको छ, जहाँ तीन हजारभन्दा बढी जनसंख्या छ ।
स्थानीयका अनुसार प्रत्येक वर्ष दोहोरिने कटानले खेतीयोग्य जमिनसँगै बस्तीसमेत जोखिममा पर्दै आएको छ । गत वर्ष केही परिवारले घर नै सुरक्षित स्थानमा सार्नुपरेको थियो । यस वर्ष पनि कटान झन् तीव्र बन्दै गएपछि स्थानीयमा त्रास बढेको छ ।
सुनसरीको वराहक्षेत्र नगरपालिका– ६ र ९ नम्बर वडा पर्दछ । बेलका नगरपालिकाको वडा नम्बर १, २ र ३ पर्दछ । सोही क्षेत्रमा सप्तकोशी नदीले पछिल्लो एक सातादेखि तीव्र कटान गरिरहेको छ । चिलैया र गरैया क्षेत्रमा नदीले दैनिक जमिन बगाउन थालेपछि करिब ६ सय घरपरिवार प्रत्यक्ष जोखिममा परेको बेलका नगर प्रमुख अशोक कार्कीले बताए । ‘सप्तकोशी बेलका वडा नम्बर ८ मा पर्ने क्षेत्रमा बाँध बाँधेपछि कटान रोकिएको छ । तर, तल तल्लो क्षेत्रमा कटान जारी छ । जसकारण यो टापुमा बसोबास गर्दै आएका ६ सय परिवार जोखिममा परेका छन्,’ उनले भने ।
गत हिउँदमा टापु संरक्षणका लागि निर्माण गरिएका तारजालीका बाँध पनि हाल डुब्न थालेका छन् । ‘पूर्व सुनसरीको क्षेत्रबाट बगेको सप्तकोशी नदी अब धार परिवर्तन गरी पश्चिमतिर उदयपुर फर्कन खोजेको देखिन्छ । जुन क्षेत्रमा हाल ठुलो मानवबस्ती छ । यता फर्कँदा ठुलो दुःख दिन्छ,’ उनले भने । स्थानीय भीम राईका अनुसार असारदेखि सामान्य कटान सुरु भए पनि अहिले नदीको बहाव पर्ने क्षेत्रमा दैनिक पाँचदेखि १० मिटरसम्म जमिन कटान भइरहेको छ । बलौटे माटो भएकाले नदीले जमिन तीव्र रूपमा बगाइरहेको र संरक्षणका लागि राखिएका ढुंगासहितका तारजालीसमेत नदीमा डुब्दै गएको उनले बताए ।
अस्थायी तटबन्ध बनाउँदै बेलका र बराहक्षेत्र नगरपालिका
सप्तकोशी नदीको पश्चिमी किनारमा तीव्र कटान बढ्दै जाँदा उदयपुरको बेलका नगरपालिका र सुनसरीको वराहक्षेत्र नगरपालिकाले कटान नियन्त्रणका लागि तटबन्ध निर्माणको संयुक्त अभियानलाई तीव्र बनाएका छन् । कटानका कारण स्थानीय बस्ती, खेतीयोग्य जमिन तथा भौतिक संरचनामा जोखिम बढेपछि स्थानीय समुदाय, सुरक्षा निकाय र सम्बन्धित निकायहरू परिचालन भएका छन् ।
स्थानीय स्रोतसाधन प्रयोग गर्दै बोरामा माटो भरेर नदी किनारमा राख्ने कार्य निरन्तर भइरहेको छ । अभियानमा स्थानीयवासी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवक सक्रिय रूपमा खटिएका छन् । बेलका नगर प्रमुख अशोक कार्की र वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले स्थलगत अनुगमन गर्दै तटबन्ध निर्माणको काम तीव्र बनाइएको बताए । ‘स्थानीयवासी, जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गर्दै कटान नियन्त्रण र राहत व्यवस्थापनलाई प्रभावकारी बनाउने योजनाका साथ हाल अस्थायी तटबन्ध बनाउने काम जारी छ,’ कार्कीले भने ।
बेलका नगरप्रमुख कार्कीका अनुसार कोशी बक्राहा नदी नियन्त्रण आयोजनामार्फत पहिलो चरणमा पाँच हजार पाँच सय थान बोरा र ७० थान डोरीजाली उपलब्ध गराइएको छ । थप ३० हजार थान बोरा तथा आवश्यक डोरीजाली पनि उपलब्ध गराइने तयारी गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले तत्कालीन नियन्त्रणका उपायसँगै दीर्घकालीन समाधानका लागि प्रदेश सरकार, नेपाल सरकार तथा सम्बन्धित निकायसँग स्थायी तटबन्ध निर्माणको माग गर्दै निरन्तर पहल गरिरहेको जनाएको छ ।