मोरङको सुनवर्षी नगरपालिकामा एक चारवर्षीया बालिका मृत अवस्थामा फेला परेकी छिन्। सुनवर्षी नगरपालिका–९, डाइनियास्थित मुस्लिम टोलनिवासी जफारुल मियाँकी चारवर्षीया छोरी कायानत खातुन शुक्रबार साँझ साढे ७ बजेतिर मृत अवस्थामा फेला परेकी हुन्।
मोरङ प्रहरीका अनुसार शुक्रबार अपराह्न ४ बजेतिर अभिभावकले बालिका हराएको सूचना स्थानीय प्रहरीलाई दिएका थिए। त्यसपछि खोजी गर्ने क्रममा साँझ घरनजिकैको घन्सीबारीमा नाबालिका कायानत मृत फेला परेकी थिइन्।
नाबालिका मृत फेला परेको सूचना पाउनासाथ शुक्रबार साँझ नै घटनास्थल पुगेका मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार मृत फेला परेकी बालिकाको निधार र कन्चटमा गहिरो चोट पाइएको छ। यसैले बालिकालाई कसैले अपहरण गरेर पुरानो रिसइबीको बदला लिन हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक शंका छ।
मृत फेला परेकी बालिकाको शवलाई शुक्रबार राति नै मेडिकल परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। बालिकाको हत्या भएको आशंकामा घटनाको इलाका प्रहरी रंगेलीको टोलीले गहन अनुसन्धान थालेको मोरङ प्रहरीले जनाएको छ।