राष्ट्रिय सभाबाट पारित भएको मर्यादित महिनावारीसम्बन्धी सङ्कल्प प्रस्तावका विषयमा लुम्बिनी प्रदेश सभाका सदस्यहरुसग छलफल गरिएको छ । बुधवार बुटवलमा भएको छलफलमा प्रदेशका सांसदहरुले यस विषयलाई प्रदेश सभामा पनि प्रवेश गराउने बताएका छन् ।
महिनावारी विभेदको अन्त्य आवश्यक रहेकोमा जोड दिदै छलफलमा सहभागिहरुले यस विषयलाई प्रदेश तहमा पनि छलफलको विषय बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् । कार्यक्रममा सहभागि प्रदेशका केही सांसदहरुले महिनावारी विभेदका प्रसंगमा आफूहरुले भोगेका अनुभवहरु समेत राखेका थिए । वर्षौदेखि महिनावारी विभेद रहदै आएको भन्दै अब लुम्बिनी प्रदेशसभामा पनि चासो दिदै छलफल गर्नुपर्नेमा प्रदेशसभा सदस्यहरूले जोड दिए ।
‘भन्सादेखि संसद्सम्मको सहभागिताका लागि मर्यादित महिनावारी’ प्रदेश सभा सांसदहरुसग अन्तरक्रिया कार्यक्रममा विषयमा राधा पौडेल फाउन्डेसनले गरेको कार्यक्रममा सहभागी प्रदेशसभा सदस्यहरूले महिनावारीसँग जोडिएका विभेद हटाउन आवश्यक रहेको बताउदै त्यसका लागि प्रदेश सभा सदस्यहरुसग आवश्यक छलफल गरेर प्रदेश सभामा प्रवेश गराउने बताए ।
कांग्रेस लुम्बिनी प्रदेश प्रमुख सचेतक जमुना ढकालले महिनावारीसम्बन्धी समाजमा रहेको विभेद कम हुदै गएको भन्दै अझै यस सम्बन्धी कार्यक्रम आवश्यक रहेको धारणा राखिन् । अघिल्ला पूस्ताहरुले विभेदका कारण भोगेका समस्याहरु पछिल्ला पुस्ताहरुमा आइपुग्दा कम हुदै गएको भन्दै उनले प्रदेशसभा सदस्य हेमा बेल्वासे केसीले महिनावारी विभेद विरुद्धमा सबै लागि पर्नुपर्नेमा जोड दिइन् । उनले विगमा समाजमा धेरै विभेद रहेको भन्दै अहिले कम हुदै गएपनि यस विषयमा अझ बढी सचेतना फैलाउनुपर्नेमा उनले जोड दिइन् । प्रदेश सभा सदस्य भगवती अधिकारीले पनि यस विषयलाई प्रदेश तहमा छलफल अगाडी बढाउने बताइन् ।
प्रदेश सभाकै सदस्य शान्ति लोध तथा प्रदेश सभाका सस्थापक सदस्य दीपा विकले समेत यस विषयमा कुरा राखेका थिए । लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य विष्णु पन्थीले महिनावारी सामान्य प्राकृतिक प्रक्रिया भए पनि यससँग जोडिएका सामाजिक समस्या हटाउन सबैको साझा प्रयास आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा सामाजिक अभियन्ता तथा लेखक डा . राधा पौडेलले महिनावारीलाई विभिन्न ठाउँमा फरक–फरक नाम र व्याख्या गरिएको चर्चा गर्दै महिनावारीले बुझाउने धेरै शब्दहरु नै आफैमा विभेदकारी रहेकाले मानवअधिकार तथा संविधानको दृष्टिकोणबाट ब्याख्य गर्न मर्यादित महिनावारी भन्न्पर्नेमा जोड दिइन् । उनले महिनावारी विभेद हटाउन खेल्दै आएको भुमिकाका बारेमा चर्चा पनि गरिन् ।