दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरामा निर्माणाधीन घरको ट्यांकीमा मृत भेटिएका दुई दाजुभाइको शव परिवारले बुझेको छ। सल्यान शारदा नगरपालिका वडा नं. १५, हुरहुरे घर भई तुलसीपुर- ९ दोघरे बस्दै आएका ठेकेदार ३८ जर्षीय कमल गिरी र सोही ठाउँ निवासी मिस्त्री ४० वर्षीय घनश्याम गिरीको शवलाई परिवारले बुझेको हो।
प्रहरीका अनुसार उनीहरू ठेक्का लिएर घर बनाउने गर्थे । मंगलबार उनीहरू लक्ष्मीनारायण मन्दिरको अर्को घरसमेत निर्माण गरिरहेका थिए । त्यही क्रममा ढलान अड्डाउने(सेट्रिङ) निकाल्न भनी आफूहरुले निर्माण गर्दै गरेको तुलसीपुर- ६, रजौरास्थित कमल पोखरीदेखि उत्तरतर्फको घरमा आएका थिए । त्यहाँ पानी ट्यांकीमा रहेको ‘सेट्रिङ’ निकाल्न भनी दुबैजना पानी ट्यांकी पसेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । स्थानीयले समेत मंगलबार ५ बजेतिर निर्माणाधीन अवस्थामा रहेको त्यही घरआसपास देखेको प्रहरीसमक्ष बताएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार मंगलबार ५ बजेतिर उनीहरू ट्यांकीमा पसेको हुन सक्ने अनुमान गरिएको छ ।
त्यहाँ उनीहरूले भर्याङ पनि लिएका छैनन् । त्यसैले केही समय ट्यांकीभित्रै रहेको र पछि निसासिएर मृत्यु भएको हुन सक्ने उनले बताए । उनीहरू त्यहाँ पसेको कसैले पनि थाहा पाएका थिएनन्।
बिहान मात्रै त्यहाँ दुईवटा मोटरसाइकल बेवारिसे अवस्थामा देखिएका थिए। ती मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । त्यति वेलासम्म पनि घटनाका बारेमा थाहा थिएन । बिहान १० बजेतिर मात्रै स्थानीयले दुईजना ट्यांकीभित्र रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घरको ट्यांकी फुटाएर करिब दुई घण्टा पछि उनीहरुको शव निकालेको थियो । उनीहरूको शरीरमा कुनै पनि चोटपटक नभएकोसमेत प्रहरीको भनाइ छ। उनीहरू दुवैजना दाजुभाइका छोराहरू हुन्। निर्माण भइरहेको घर मनीराम चन्दको रहेको छ। उनी तुलसीपुरका व्यवसायी हुन्।