ब्राउनसुगरजस्तो पदार्थसहित सिराहाको दुई ठाउँबाट तीनजना पक्राउ

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

सिराहा प्रहरीले जिल्लाको दुई छुट्टाछुट्टै ठाउँबाट ब्राउनसुगरजस्तो पदार्थसहित तीनजनालाई पक्राउ गरेको छ । सिराहाको कर्जन्हा नगरपालिका– ११ नयाँ टोलस्थित बरफ उद्योगनजिबाट प्रहरीले आइतबार प्लास्टिकबाहेक ८८० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित स्थानीय दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सिराहा प्रहरीका प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ पर्नेहरूमा कर्जन्हा– ९ का करिब ३१ वर्षीय सुनील महरा र त्यहीँ घर भई कर्जन्हा– ११ का रामउदगार महतोको घरमा डेरा गरी बस्दै आएका करिब २४ वर्षीय अवधेश महरा छन् । 

कर्जन्हा प्रहरी चौकीबाट खटिएको प्रहरीले उनीहरूले १० वटा प्लास्टिकको पोका बनाएर लुकाएर राखेको लागुऔषधसहित नेपाली मुद्रा नगद पाँच हजार ७४० रुपैयाँ, दुई थान एन्ड्राेइड मोबाइल एक थान किप्याड मोबाइलसमेत बरामद गरी मिर्चैया प्रहरीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

त्यसअघि प्रहरीले गोलबजार नगरपालिका ६ बा बिक्री–वितरण गरिरहेको अवस्थामा शनिबार स्थानीय करिब २७ वर्षीय सुजन थापामगरलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार गोलबजारस्थित इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो शाखाबाट खटिएको प्रहरी टोलीले मगरलाई २४ वटा स–साना पोका बनाइएको प्लास्टिकबाहेक एक ग्राम २८० मिलिग्राम लागुऔषध र एक थान मोबाइलसहित पक्राउ गरिएको हो । उनलाई गोलबजार प्रहरीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार