बर्डफ्लु नियन्त्रणपछि आजदेखि सदर चिडियाखाना पुनः सञ्चालनमा

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

बर्डफ्लु संक्रमणका कारण असार ५ गतेदेखि बन्द गरिएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा आएको छ।

काग, गिद्ध, हाँसलगायत पक्षीमा एभियन इन्फ्लुएञ्जा (बर्डफ्लु) संक्रमण पुष्टि भएपछि चिडियाखाना बन्द गरिएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पक्षीको उपचार, सरसफाइ तथा आवश्यक व्यवस्थापन कार्य सम्पन्न गरी वातावरणीय नमुनाको परीक्षण गर्दा भाइरस नदेखिएपछि चिडियाखाना पुनः खोल्ने निर्णय गरिएको हो।

चिडियाखाना प्रशासनका अनुसार बिहीबार पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको संयुक्त बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो।

चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार चिडियाखाना दैनिक बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म प्रवेशका लागि खुला रहनेछ। 

सुझावित समाचार