सांसद रमेश प्रसाईंले घरभाडा निर्धारणमा वैज्ञानिक मापदण्ड लागू गर्न सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले हाल सानो कोठाको भाडासमेत आठ हजारदेखि १० हजार रुपैयाँसम्म निर्धारण हुने गरेको उल्लेख गर्दै यसको आधार घरबेटीको इच्छाबाहेक अर्को स्पष्ट मापदण्ड नरहेको बताए। उनले घरबेटीको मनोमानी बन्द हुनुपर्नेमा जाेड दिए ।
सरकारले बहाल कर उठाउने, तर बहालमा बस्ने विद्यार्थी, दैनिक ज्यालादारी गर्ने श्रमिक तथा मजदुरको समस्याप्रति बेवास्ता गरेको उनको आरोप थियो।
उनले तीनै तहका सरकार घर हुनेहरूको मात्र नभई भाडामा बस्ने नागरिकको हितमा पनि जिम्मेवार हुनुपर्ने बताए। ‘सामानमा मूल्यसूची (प्राइस ट्याग) टाँसिएझैँ घरको भित्तामा भाडादर स्पष्ट रूपमा टाँस्नुपर्ने भन्दिनँ, तर सार्वजनिक यातायातको भाडादर तोकिएजस्तै घर तथा कोठा भाडाको पनि वैज्ञानिक र पारदर्शी मापदण्ड तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गर्दछु,’ उनले भने ।