राजनीतिक दलहरूले भर्त्सना गर्दै भने– प्रेसलाई त्रसित पार्ने हर्कत

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

सुकुमवासीमाथि भइरहेको अत्याचार र गणेश नेपालीको आत्मदाह घटनामा सरकारमाथि प्रश्न उठाएपछि सञ्चार गृहका मूलगेटमा शंकास्पद रूपमा गाडी राखेर तर्साउने प्रयास भएको छ । संविधानमै लिपिबद्ध प्रेस स्वतन्त्रताको अधिकार नै हनन हुने गरी भएको घटनामा ‘सरकार संरक्षित’ व्यक्तिहरूकै संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सञ्चारसम्बद्ध संघसंस्थादेखि राजनीतिक दलहरूसम्मले यसको भर्त्सना गरेका छन् ।

सोमबार बिहान हिमालय टेलिभिजन, कान्तिपुर र अनलाइनखबरका कार्यालयको मूलगेट नै छेकिने गरी शंकास्पद रूपमा गाडी राखिएको थियो । अज्ञात व्यक्तिहरूले बिहानै गाडी छाडेर गएको सूचना सम्बन्धित मिडियाका कर्मचारीले प्रहरीलाई तत्काल जानकारी गराउँदा पनि घण्टौँसम्म कारबाही प्रक्रिया सुरु गरिएन । बरु साँझ सामान्य चिट काटेर गाडी सम्बन्धित व्यक्तिहरूलाई नै जिम्मा लगाइयो ।

राजनीतिक दलहरूले के भने ?

रास्वपा :  प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुनकुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ । यी घटनाहरूको तत्काल निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि तत्काल पहिचान गरी कानुनबमोजिम गर्न सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।

कांग्रेस : यो घटनालाई कांग्रेसले स्वतन्त्र अभिव्यक्ति र लोकतान्त्रिक गतिविधिलाई त्रसित बनाउने कुत्सित मनसायबाट प्रेरित नियोजित घटनाको रूपमा लिएको छ ।  यस्तो प्रवृत्ति लोकतान्त्रिक मूल्य, विधिको शासन तथा नागरिक स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो भन्ने नेपाली कांग्रेसको ठहर छ । आतंकको यस शैलीको कांग्रेस घोर निन्दा तथा भर्त्सना गर्दछ ।

एमाले : यो कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो । स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व हो । पत्रकारलाई भयभीत बनाउने र काममा अवरोध पुर्याउने यो निन्दनीय र रहस्यमय घटनाको भर्त्सना गर्दछौँ ।

नेकपा : प्रेसलाई तर्साएर सत्यलाई रोक्न सकिन्छ भन्ने सोच लोकतन्त्रविरोधी मानसिकता हो । यसलाई किमार्थ स्वीकार गर्न सकिन्नँ । राज्यको कमजोरी ढाकछोप गर्न आज जसरी मिडियामाथि हमला भएको छ, यसले लोकतन्त्रमाथि नै प्रहार गरेको छ ।

जसपा : मिडियाको निष्पक्ष भूमिकालाई प्रभावित पार्न गाडीआतंक चलाइएको जनाएको छ । नेता सुरेन्द्र झाले सरकारले नियन्त्रित लोकतन्त्रको अभ्यास गर्न खोजेकै कारण सुनियोजित रूपमा यो घटना गराएको दाबी गरेका छन् । ‘सरकारले नियन्त्रित लोकतन्त्रको अभ्यास गर्न खोजेको छ । नागरिकको अधिकार कुण्ठित गर्न खोजिएको छ । नागरिकलाई आतंकित पार्ने काम सुनियोजित रूपमा भइरहेको छ । मिडियाले निष्पक्ष भएर गरेको कामलाई प्रभावित गर्न गाडीआतंक सिर्जना गरिएको छ । यो निन्दनीय छ,’ उनले भनेका छन्, ‘यसको जति भर्त्सना गरे पनि कम हुन्छ । जसलाई लोकतन्त्र प्रिय लाग्छ, ती सबै एकाकार भएर खबरदारी गर्नुपर्छ ।’

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिडियाका कार्यालयअगाडि गाडी छाडेर सवारी आवागमन अवरुद्ध गर्नु निकृष्ट कलाविहीन नाटक भएको बताएका छन् । ‘लाखौँ मूल्य पर्ने गाडीहरू मिडियाका कार्यालयअगाडि योजनाबद्ध ढंगबाट तेर्स्याइनु सडकछेउमा बोरा वा झोलामा शंकास्पद वस्तु राखिनुजस्तो रहस्यमय हुँदैन । अन्यथा भए मात्रै, नत्र त राज्यले चाहँदा १० मिनेटभित्र सवारीधनीको विवरण लिन सक्छ, निजलाई पक्राउ गर्न सक्छ, उद्देश्य पत्ता लगाउन सक्छ र कारबाही गर्न सक्छ,’ श्रेष्ठले भनेका छन्, ‘आज केही मिडियाका कार्यालयअगाडि गाडी छोडेर सवारी आवागमन अवरुद्ध गर्ने कार्य निकृष्ट कलाविहीन नाटक हो । जनतालाई सुसूचित गर्ने मिडियाको काममा बाधा नपुर्याइयोस् ।’

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि सञ्चारमाध्यमका कार्यालयअगाडि शंकास्पद रूपमा सवारीसाधन राखेर त्रास सिर्जना गर्ने घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन माग गरेका छन् । ‘लोकतन्त्रको मेरुदण्ड मानिने स्वतन्त्र प्रेसलाई डर, धम्की र आतंकको वातावरणमा धकेल्ने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्य–मान्यता, संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथिको प्रत्यक्ष आक्रमण हो । डर, धम्की र त्रासमुक्त वातावरणमा स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको पूर्ण प्रत्याभूति सञ्चारमाध्यमलाई हुनुपर्छ,’ उनले भनेका छन्, ‘यो घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन, यस्ता घटनाको पुनरावृत्ति हुन नदिन प्रभावकारी कदम चाल्न तथा सञ्चारमाध्यमलाई निर्भय वातावरणमा आफ्नो पेसागत दायित्व निर्वाह गर्ने सुनिश्चितता गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछु ।’

सुझावित समाचार