काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले कलंकी र नयाँ बसपार्क क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा ६० जनालाई पक्राउ गरेको जनाएको छ।
कार्यालयले आर्थिक वर्ष ०८२/८३ अन्तर्गत जारी गरेको प्रेस विज्ञप्ति नम्बर ३५४ अनुसार लामो समयदेखि उक्त क्षेत्रमा पैदल हिँडिरहेका यात्रु तथा सर्वसाधारणलाई जबर्जस्ती सवारीसाधनमा चढाउने, झोला तथा सामान तान्ने र विभिन्न किसिमले दुःख–हैरानी दिने गरेको भन्ने गुनासोका आधारमा प्रहरीले विशेष अभियान सञ्चालन गरेको थियो।
सोही अभियानअन्तर्गत असार २५ गते खटिएको प्रहरी टोलीले कलंकी र नयाँ बसपार्क क्षेत्रबाट उक्त कार्यमा संलग्न रहेको आरोपमा ६० जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा काठमाडौं, नुवाकोट, तनहुँ, बाँके, दोलखा, सर्लाही, सिन्धुली, धादिङलगायत विभिन्न जिल्लाका व्यक्तिहरू रहेका छन्। पक्राउ परेकामध्ये केही नाबालकसमेत रहेका प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको छ। यात्रु तथा सर्वसाधारणलाई अनावश्यक दुःख–हैरानी दिने कार्य नियन्त्रण गर्न यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।