राष्ट्रसंघमा आइजिपी कार्कीको सम्बोधन : अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले विश्वव्यापी शान्ति, सुरक्षा तथा कानुनको शासन सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको अपरिहार्यतामा जोड दिएका छन्। संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले नयाँ चुनौतीसँग लड्न सहकार्य आवश्यक भएको बताएका हुन्। 

बदलिँदो विश्व सुरक्षा परिवेशसँगै साइबर अपराध, मानव बेचबिखन, अन्तरदेशीय संगठित अपराध, आतंकवाद, आर्थिक अपराध तथा डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीहरू कुनै एक राष्ट्रको प्रयासबाट मात्र समाधान हुन नसक्ने उनको भनाइ छ। सूचना आदान–प्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम तथा प्रविधिको प्रभावकारी उपयोगमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता कार्कीले औँल्याएका छन्। 
आइजिपी कार्कीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा नेपाल प्रहरीले दशकौँदेखि व्यावसायिकता, निष्पक्षता र अनुशासनका साथ निर्वाह गर्दै आएको भूमिकाको चर्चा गर्दै विश्व शान्ति स्थापनामा नेपालको प्रतिबद्धता निरन्तर रहने विश्वास व्यक्त गरे। साथै, महिला प्रहरीको सहभागिता वृद्धि, समुदाय–प्रहरी साझेदारी, मानव अधिकारको सम्मान तथा कानुनको शासनलाई केन्द्रमा राखेर आधुनिक प्रहरी सेवाको विकासमा नेपाल प्रहरी प्रतिबद्ध रहेको धारणा राखेका छन्। 

शान्ति र सुरक्षाका साझा चुनौतीहरूको प्रभावकारी समाधानका लागि सदस्य राष्ट्रहरूबिच विश्वास, समन्वय र साझेदारी अझ सुदृढ हुनुपर्नेमा जोड दिँदै आइजिपी कार्कीले सुरक्षित, न्यायपूर्ण र शान्तिपूर्ण विश्व निर्माणमा सबै राष्ट्रहरू एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।  
 

सुझावित समाचार