कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूले विवाद छिटो छिनोफानो गर्न नेतृत्वलाई दबाब दिएका छन् । चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार बसेको बैठकमा नेताहरूले ‘वार कि पार’को अवस्थामा जानुपर्ने भन्दै अलमलमा नपर्न दबाब दिएका हुन् ।
संस्थापन पक्षसँग आन्तरिक एकता कायम हुन नसके नयाँ पार्टी गठन गरेर जाने आँट नेतृत्वमा हुनुपर्ने उनीहरूको तर्क छ । राष्ट्रिय कार्यकर्ता भेलामार्फत आवश्यक निर्णय लिनुपर्नेमा उनीहरूको जोड छ । तर, कार्यकर्ता भेलाको मितिबारे भने बैठकमा फरक–फरक धारणा आएको छ । केही नेताले ६ साउनमा गर्नुपर्ने तर्क गरेका छन् भने केहीले १५ साउनमा गर्नुपर्ने बताएका छन् ।
नेता मोहनबहादुर बस्नेतले साउनभित्रै अन्तिम निर्णय लिनुपर्ने बताए । उनले खुट्टा नकमाउन इतर पक्षका नेतृत्वलाई आग्रह गरे । ‘नेतृत्वले खुट्टा कमाउने काम गर्नुहुन्न । एकताका लागि डेट तोकेर लागौँ । हुँदैन भने महाधिवेशनको डेट तोकौँ,’ उनले भने ।
नेताहरू वीरबहादुर बलायर र शिव हुमागाईंले चुप लागेर बस्ने समय सकिएको भन्दै तत्काल ठोस निर्णय गरेर जानुपर्नेमा जोड दिएका छन् । कार्यक्रम घोषणा गरेर जानुपर्नेमा उनीहरूको जोड छ ।
मंगलबारको बैठकमा बस्नेत, बलायर र हुमागाईंसहित किरण पौडेल, सीता देवकोटा, गुरु बराल, गोविन्द शाह र महिन्द्राकुमारी लिम्बूले धारणा राखेका छन् । बुधबार दिउँसो २ बजे पुनः बस्ने बैठकमा बाँकी सदस्यले धारणा राख्नेछन् । सदस्यहरूले धारणा राखेपछि पदाधिकारीले बोल्ने र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक समापन गर्ने तयारी छ ।
आन्तरिक एकता कायम हुन नसके वैकल्पिक शक्ति निर्माणमा केन्द्रित हुनुपर्ने सुझाव नेताहरूबाट आएको इतर पक्षका नेता मीन विश्वकर्माले बताए । उनका अनुसार नेताहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिलाई जोडेर धारणा राखेका थिए । ‘श्रद्धेय नेताहरूले आजका दिनसम्म पुर्याउनुभएको योगदानलाई इतिहासमा नमेटिने गरी हामीले पाइला सार्नुपर्छ, त्यो साहस गर्नुपर्छ । कांग्रेसलाई निरन्तरता दिएर अगाडि लैजानका लागि सबै नेताहरू एक ठाउँ बस्नुपर्यो, वैकल्पिक शक्ति निर्माण गर्नुपरेमा अथवा वैकल्पिक संगठन नै निर्माण गर्नुपरेमा पनि हामी हच्किनुहुँदैन,’ नेताहरूको भनाइ उद्धृत गर्दै विश्वकर्माले भने, ‘अब अलमल नगरौँ, जे गर्ने हो छिटो गरौँ भन्ने छ ।’
नेताहरूले एकताबारे चिन्ता भए पनि संस्थापन पक्ष तयार नभएकाले छिटो निर्णय गर्नुपर्नेमा जोड दिएका छन् । इतर पक्षका सबै नेताहरू एक ठाउँमा बसेर आवश्यक निर्णय गर्नुपर्ने उनीहरूको सुझाव छ । इतर पक्षले महाधिवेशन भाग लिन सदस्यता अद्यावधिक आवश्यक नपर्ने, १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको समायोजन हुनुपर्ने मुख्य विषय उठाएको छ ।