बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गर्नुपर्नेमा गभर्नरको जोड

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बैंक तथा वित्तीय संस्थाको संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै व्यवसायको आकार र प्रकृतिअनुसार बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गरिने बताएका छन्।

मंगलबार आर्थिक वर्ष ०८३/८४ को मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर पौडेलले बैंकिङ क्षेत्रलाई थप प्रभावकारी, प्रतिस्पर्धी र विशिष्टीकृत बनाउन व्यवसायको आकार तथा प्रकृतिअनुसार सेवा प्रदान गर्ने अवधारणालाई अघि बढाउने बताए । साथै, बैंक तथा वित्तीय संस्थाले शाखा विस्तार तथा शाखा बन्द गर्ने प्रक्रियामा आवश्यक लचकता दिइने र वित्तीय सेवाको डिजिटलाइजेसनलाई थप प्रोत्साहन गरिने नीति अवलम्बन गर्ने उल्लेख गरे । 

उनले  संस्थागत ऋणीहरूको हकमा व्यक्तिगत जमानी लिने व्यवस्थामा कडाइ गरिने पनि स्पष्ट पारे। यसबाट संस्थागत कर्जालाई संस्थागत जिम्मेवारीकै आधारमा व्यवस्थित गर्ने उद्देश्य रहेको उल्लेख गरे । 

त्यसैगरी, ऋण असुली तथा वित्तीय अनुशासनलाई प्रभावकारी बनाउँदै कालोसूचीमा पर्ने व्यक्तिको संख्या सकेसम्म कम हुने वातावरण सिर्जना गरिने उनले बताए । निक्षेपकर्ताको हकहित संरक्षणका लागि निक्षेप स्वीकार गर्ने संस्थाहरूको संस्थागत क्षमता र सुशासन सुधारमा विशेष जोड दिइने गभर्नर पौडेलको भनाइ छ।

सुझावित समाचार