इन्टर्न चिकित्सकहरूको समस्या सम्बोधन गर्न सांसद खुश्बु ओलीको माग

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले चिकित्सा शिक्षण संस्थामा अध्ययनरत इन्टर्न चिकित्सकहरूले भोग्दै आएको न्यून पारिश्रमिक र श्रम शोषणको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छिन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले एमबिबिएस र बिडिएस इन्टर्न चिकित्सकहरूको पारिश्रमिक, कार्यघण्टा तथा श्रम अधिकारका विषयमा सरकारको ध्यानाकर्षण गराएकी हुन्।

उनले सरकारी मेडिकल कलेजको तुलनामा निजी मेडिकल कलेजका इन्टर्न चिकित्सकहरूले निकै कम भत्तामा लामो समयसम्म काम गर्नुपर्ने अवस्था रहेको बताइन्। नीतिगत कमजोरीका कारण उदाउँदा चिकित्सकहरूको श्रम निरन्तर शोषण भइरहेको र यसले दक्ष स्वास्थ्य जनशक्ति विदेश पलायन हुने जोखिम बढाएको उनको भनाइ थियो।

ओलीका अनुसार विभिन्न कार्यदलहरूले इन्टर्न चिकित्सकलाई आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशतबराबर निर्वाह भत्ता उपलब्ध गराउन सिफारिस गर्दै प्रतिवेदन तयार पारेका छन्। तर, उक्त प्रतिवेदन चिकित्सा शिक्षा आयोगमा पुगेको ९० दिन बितिसक्दा पनि आयोगले बैठक बसेर कार्यान्वयनका लागि कुनै ठोस निर्णय नगरेको उनले बताइन्।

उनले नेपालको श्रम ऐन, २०७४ ले व्यवस्था गरेको कार्यघण्टा र न्यूनतम पारिश्रमिक इन्टर्न चिकित्सकहरूको हकमा प्रभावकारी रूपमा लागू नभएको उल्लेख गर्दै समान कामका लागि समान पारिश्रमिक र मर्यादित कार्यघण्टा सुनिश्चित गर्न सरकारसँग आग्रह गरिन्।

सरकारले पटक–पटक आश्वासन दिए पनि ठोस पहल नगरेको भन्दै इन्टर्न चिकित्सकहरूले आउँदो शनिबारदेखि संगठनात्मक रूपमा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको जानकारी पनि उनले सदनमा गराइन्।

सुझावित समाचार