फेरि बढ्यो ‘धुर्बे’ हात्तीको आतंक : घरमै पसेर आमा–छोराको लियो ज्यान

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

१ माघ ०७८ मा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ एकजना सैनिकको हत्यापछि एकाएक गायब भएको कुख्यात जंगली हात्ती ‘धुर्बे’ले फेरि दुईजनाको ज्यान लिएको छ । वर्षौँदेखि निकुञ्जआसपासका बस्तीमा आतंक मच्चाउँदै आएको धुर्बेले शनिबार राति आमा र चार वर्षीय छोराको ज्यान लिएको छ । यससँगै धुर्बेको आक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार शनिबार राति करिब ११ बजे भरतपुर महानगरपालिका– २३, बेलहट्टास्थित पूर्ण बोटेको कच्ची घरमा जंगलबाट आएको धुर्बे हात्तीले आक्रमण गरेको थियो । बार भत्काएर घरभित्रै प्रवेश गरेको हात्तीले घरभित्र सुतिरहेकी २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतलाई बाहिर तानेर आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

चितवन प्रहरीका अनुसार सात सदस्यीय परिवार घरमै सुतिरहेका वेला हात्तीले अचानक आक्रमण गरेको थियो । परिवारका अन्य सदस्यले आगो बालेर हात्ती भगाउने प्रयास गरे पनि आशिका र उनका छोरालाई बचाउन सकेनन् । आगो सल्किँदा कच्ची घरसमेत जलेर नष्ट भएको छ । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिए पनि घरमा ठुलो क्षति पुगेको छ ।

पहिले सासू–ससुरा, अहिले बुहारी र नाति
मृतक आशिकाको परिवारमा धुर्बेको यो पहिलो आक्रमण होइन । यसअघि धु्रवेकै आक्रमणबाट ३० असार ०६९ मा मृतक आशिकाका सासू–ससुराको पनि ज्यान गएको थियो । भरतपुर महानगरपालिका– २३ का वडाध्यक्ष दीपक दवाडीका अनुसार आशिकाका सासू–ससुरा माडी नगरपालिका– १ पाण्डवनगरमा बस्दा पनि धुर्बेकै आक्रमणमा मारिएका हुन् ।

सो घटनापछि परिवार सुरक्षा खोज्दै माडी छोडेर भरतपुर– २३, जगतपुरमा बसाइँ सरेको थियो । तर, नयाँ वासस्थानमा पनि धुर्बेकै आक्रमणबाट जोगिन सकेनन् । ‘सुरक्षाको आशामा बसाइँ सरेको परिवारले फेरि त्यही हात्तीको आक्रमणमा आफ्ना सदस्य गुमाउनु अत्यन्त दुःखद र विडम्बनापूर्ण हो,’ उनले भने ।

घटनापछि आक्रोशित स्थानीयले मृतक आमा–छोराको शव चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा जाने राप्ती पुलमा राखेर प्रदर्शन गरेका थिए । धुर्बेले वर्षौँदेखि बेलहट्टा, जगतपुर, मेघौली र माडी क्षेत्रमा घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मानिसमाथि आक्रमण गर्दै आएको भए पनि निकुञ्ज प्रशासनले प्रभावकारी नियन्त्रण गर्न नसकेको स्थानीयको आरोप छ । वडाध्यक्ष दवाडीले निकुञ्ज प्रशासनको लापरबाहीकै कारण दुई निर्दोष नागरिकको ज्यान गएको आरोप लगाए ।

‘स्थानीयले पटक–पटक जानकारी गराएका थिए । तर, समयमै प्रभावकारी कदम नचालिँदा दुई निर्दोष नागरिकको ज्यान गएको छ,’ उनले भने, ‘तत्काल धुर्बेलाई नियन्त्रणमा लिनुका साथै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन योजना लागू गर्नुपर्छ ।

स्थानीयको आन्दोलनपछि चितवन राष्ट्रिय निकुञ्ज, नयाँ गोरखा गण, भरतपुर महानगरपालिका– २३, इलाका प्रहरी कार्यालय गीतानगर, केरुंगा मध्यवर्ती उपभोक्ता समिति तथा बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक उपभोक्ता समितिबिच छलफल भएको थियो । छलफलपछि भएको चारबुँदे सहमतिमा धुर्बेलाई तत्काल नियन्त्रणमा लिन आवश्यक प्रक्रिया अघि बढाइने, मृतक परिवारलाई तत्काल राहत उपलब्ध गराइने, आगलागीबाट नष्ट भएको घर पुनर्निर्माण गरिदिने र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल आवश्यक सुरक्षा र व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

स्थानीयका अनुसार धुर्बेको रातको समयमा गाउँ पस्ने, घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मानिसमाथि आक्रमण नियमितजस्तै बनेको छ । समस्या सिर्जना गर्ने हात्तीको वैज्ञानिक व्यवस्थापन, प्रारम्भिक चेतावनी प्रणाली, विद्युतीय बार तथा प्रभावित बस्तीको स्थायी सुरक्षा व्यवस्थाको माग स्थानीयले गरेका छन् । एउटै परिवारका सासू–ससुरा र पछि बुहारी तथा नातिको समेत ज्यान लिएको घटनाले मानव–वन्यजन्तु द्वन्द्व अब केवल संरक्षणको मुद्दा नभई मानव सुरक्षाको गम्भीर चुनौती बनेको वडाध्यक्ष दवाडीले बताए ।

१७ वर्षमा धुर्बेबाट २५ जना मारिए 
धुर्बे चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने जंगली हात्तीका रूपमा परिचित छ । ०६६ माघदेखि मानवमाथि आक्रमण गर्न थालेको धुर्बेले ०६९ सम्म १५ जनाको ज्यान लिएको थियो । त्यसयता धुर्बेले २५ जनाको ज्यान लिइसकेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए । उनका अनुसार धुर्बेले नेपालमा मात्र नभई भारतमा समेत पुगेर मानिसको ज्यान लिएको छ । 

विशेषगरी चितवनको माडी क्षेत्रमा एक महिनाभित्र लगातार चारजनाको मृत्यु भएपछि १ पुस ०६९ मा तत्कालीन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले धुर्बेलाई मार्ने निर्णयसमेत गरेको थियो । तर, नेपाली सेनाले सञ्चालन गरेको नियन्त्रण अभियानमा धुर्बे गोलीबाट जोगिँदै आएको थियो । 

मानव जीवन नै जोखिम हुन थालेपछि तत्कालीन सरकारले ‘सुट एट साइट’ अर्थात् भेटिएकै स्थानमा मार्ने स्वीकृति दिए पनि तत्कालीन समयको निर्णय अहिले लागू नहुने निकुञ्जका सूचना अधिकारी मगरले बताए । ‘त्यतिवेला अति भयावह अवस्थामा मानिस तथा भौतिक संरचनामाथि आक्रमण भएकाले जहाँ भेट्यो त्यहाँ मार्ने अनुमति पाएको हो । तर, अहिले त्यही निर्णय पालना गर्न मिल्दैन,’ उनले भने, ‘अहिले पनि समस्या पा¥यो भने नियन्त्रणका लागि सरकारको निर्णय चाहिन्छ ।’

करिब पाँच वर्षसम्म बेपत्ता यो हात्ती पछि फेरि निकुञ्जको सुखीभार क्षेत्रमा देखिन थालेको थियो । ०७८ मा धुर्बेले नेपाली सेनाका एक मेजरको समेत ज्यान लिएको थियो । त्यसयता केही समय शान्त देखिएको धुर्बेले शनिबारको घटनासँगै पुनः मानवीय क्षति पुर्याएको हो । धुर्बेलाई नियन्त्रण गर्न निकुञ्जले विभिन्न प्रयास गरेको थियो । उसको घाँटीमा रेडियो कलर जडान गर्ने, दाह्रा काट्ने, डार्ट प्रयोग गरेर बेहोस बनाई उत्तेजना कम गर्ने औषधिसमेत प्रयोग गर्नेजस्ता काम गरिएको थियो । तर, यी सबै उपायले पनि दीर्घकालीन समाधान दिन सकेनन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले धु्रवेको घाँटीमा राखिएको रेडियो कलर परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले हात्ती बाक्लो र घना जंगलमा प्रवेश गर्दा उसलाई ट्र्याकिङ गर्न नसक्दा समस्या हुने गरेको बताए । सूचना अधिकारी मगरले अहिले धुर्बे सुखीभार क्षेत्रतिर लागेको र त्यसलाई पुनः मानव बस्तीमा आउन नदिन सुरक्षा गस्ती बढाइने बताए । ‘अहिले धु्रवे सुखीभार क्षेत्रतिर गएको बुझिएको छ । त्यसलाई पुनः मानव बस्तीमा आउन नदिन सुरक्षा गस्ती बढाउँछौँ,’ उनले भने, ‘निरन्तर निगरानीका लागि त्यसको घाँटीमा लगाइएको सेटलाइट रेडियो कलर परिवर्तन गरेर अलि एडभान्स खालको राख्ने व्यवस्था गर्छौँ ।’

सुझावित समाचार