राजापुर नगरपालिकाको करिब ७६ प्रतिशत काम उपभोक्ता समितिबाट

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

बर्दिया रहेको राजापुर नगरपालिकाले ७६ प्रतिशत काम उपभोक्ता समिति बनाएर गर्ने गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षणको प्रतिवेदनअनुसार पालिकाले ७५.६६  प्रतिशत काम उपभोक्ता समिति बनाएर गर्ने गरेको पाइएको छ । 

खरिद नियमावली, २०६४ को दफा ९७ मा एक करोड रुपैयाँसम्मको  लागत अनुमानमा  मूल्य अभिवृद्धि कर, ओभरहेड, कन्जिजेन्सि रकम र जनसहभागितासमेत समावेश गरी  उपभोक्ता समितिबाट काम गर्न सकिने व्यवस्था रहेको छ । तर, खरिद नियमावलीविपरीत  जनसहभागिताविना नै  कागजी उपभोक्ता समिति बनाएर काम गर्ने परिपाटी बढ्दै गएको छ । कागजमा उपभोक्ता समिति बनेको भए पनि काम भने निर्माण व्यवसायीले  गर्दै आएका छन् । 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको  आर्थिक वर्ष ०८१/०२ को लेखापरीक्षण प्रतिवेदनअनुसार पालिकाले  तीन करोड ४९ लाख २८ हजार ७२ रुपैयाँको काम उपभोक्ता समितिमार्फत काम गरेको छ । पालिकाले १४३ वटा उपभोक्ता समितिबाट काम गराएको लेखापरीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पालिका र  वडास्तरीय १८९ योजनामध्ये आधाभन्दा बढी १४३ वटा योजनाको काम उपभोक्ता समिति बनाएर  पालिकाले गर्दै आएको छ । पालिकामा पालिकास्तरीय  २० लाख रुपैयाँमाथिका २२ वटा, पाँच लाखदेखि २० लाख रुपैयाँसम्मका ४५  वटा, पाँच लाख रुपैयाँसम्मका सातवटा योजना रहेका छन् । त्यसैगरी वडास्तरीय पाँच लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको १५ वटा र पाँच लाखसम्मका १०७ वटा योजनाको काम भएको लेखापरीक्षणको प्रतिवेदनमा उल्लेख छ।
 

सुझावित समाचार