सहआयोजक मेक्सिकोसँग खेल्न मेक्सिको सिटी पुगेको इंग्ल्यान्ड टिमको विरोध भएको छ । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रतिस्पर्धा गर्न इंग्ल्यान्ड सहआयोजक मेक्सिको पुगेको हो । सोमबार बिहान हुने खेलमा मेक्सिको र इंग्ल्यान्ड एज्टेका मैदानमा प्रतिस्पर्धा गर्दै छन् । यो खेलको विजेता टिम क्वार्टरफाइनलमा स्थान बनाउनेछ ।
यही खेल खेल्न मेक्सिको ओर्लिएलगत्तै इंग्ल्यान्ड टिमले विरोधको सामना गर्नुपर्यो । सामान्यतया, आयोजकले टिम बस्ने होटेलको नाम गोप्य राख्ने गरेको छ । तर, टिम बस्ने होटेलको सूचना बाहिरिएपछि स्थानीय समर्थक इंग्ल्यान्ड बस्ने होटेल पुगेका थिए । उनीहरूले खेलाडी बसबाट ओर्लिने वेला नै विरोध गरेका थिए । त्यसपछि टिम होटेलभित्र प्रवेश गर्दा पनि अस्वाभाविक नाराबाजी गरेका थिए । उनीहरूले ‘मेक्सिको मेक्सिको’ नारा लगाएका थिए । कप्तान ह्यारी केनले मेक्सिकन समर्थकलाई केही जवाफ पनि फर्काएका थिए ।
सामान्यतया, विपक्षी टिमलाई घरमा आतिथ्य दिँदा घरेलु समर्थनले बाजागाजासहित स्वागत गर्छन् । तर, मेक्सिकोमा यो विश्वकपमा यस्तो देखिएको छैन । पछिल्लोपटक इक्वेडरविरुद्ध पनि यस्तै नाराबाजी गरिएको थियो । ठुलो स्वरमा ध्वनिप्रदूषण गर्दै खेलाडीलाई दुःख दिएको थियो । घरेलु समर्थनबाट यस्तो व्यवहार भएपछि इक्वेडर फुटबल संघले आपत्ति जनाएको छ ।
यता, इंग्ल्यान्डसँग पनि उस्तै व्यवहार भएपछि स्थानीय प्रशासनले खेलाडी बसेको होटेल वरपर कडा सुरक्षा व्यवस्था गरेको छ । सम्भावित घटना नहोस् भन्न होटेलको बाहिर ठुलो मात्रामा पुलिस राखिएका छन् । दंगा नियन्त्रण गर्ने टोली रहेको छ । त्यस्तै, बेरिकेट्स पनि तैनाथ गरिएको छ । यता, खेलअघि इंग्ल्यान्डका फ्यानहरू पनि ठुलै मात्रामा आउने भएपछि सम्भावित झगडालाई मध्यनजर गर्दै मेक्सिको पुलिसले व्यवस्थापन चुस्त बनाएको छ ।
मेक्सिकोलाई स्तब्ध बनाउने इंग्ल्यान्डको योजना
फिफा वरीयतामा आफूभन्दा १० स्थान तल रहेको मेक्सिकोलाई घरेलु समर्थकमाझ स्तब्ध बनाउने योजना इंग्ल्यान्डले बनाएको छ । हाल इंग्ल्यान्ड फिफा वरीयतामा चौथो स्थानमा रहँदा मेक्सिको १४औँ स्थानमा छ । इंग्ल्यान्डले अन्तिम ३२ को प्रतिस्पर्धामा कंगोलाई २–१ ले हराएको थियो । सन् १९६६ को च्याम्पियन इंग्ल्यान्ड दोस्रोपटक उपाधि जित्ने दाउमा रहँदा मेक्सिकोको चुनौती सहजै पछ्याउने योजनामा देखिन्छ ।
थोमस टुचेलको प्रशिक्षणमा रहेको इंग्ल्यान्डलाई जिताउन कप्तान केनले दुई गोल गरेका थिए । त्यसपछि मात्रै इंग्ल्यान्डले कमब्याक जित निकालेको हो । बायर्न म्युनिखबाट खेलिरहेको ३२ वर्षीय स्ट्राइकरले यो विश्वकपमा ५ गोल गरिरसकेका छन् । बढ्दो उमेरसँगै केनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मेक्सिकोविरुद्ध पनि केन नै हाबी हुने अनुमान गरिएको छ । केनलाई अग्रपंक्तिमा जुड वेलिंघम, मार्कुस रसफोर्ड, नोनी मादुइकेजस्ता खेलाडीको साथ रहेको छ । यता, मेक्सिको पनि ८० हजारमाथि समर्थकमाझ इंग्ल्यान्डलाई रोक्ने योजनामा छ । लगातार घरेलु मैदानमा पाँचौँ जित निकाल्ने टोलीको दाउ छ । मेक्सिकोले अन्तिम ३२ को खेलमा इक्वेडरलाई २–० ले हराएको थियो । त्यसअघि समूह ‘ए’मा दक्षिण अफ्रिकालाई २–०, दक्षिण कोरियालाई १–० तथा चेक रिपब्लिकलाई ३–० ले हराएको थियो । ६७ वर्षीय प्रशिक्षक जाभियर अगुइर उल्भ्सबाट खेलिरहेका राहुल जेभिनेजसँगै तीन गोल गरेका जुलियन क्विनोनेस, रोबार्टो अल्भाराडोलाई मुख्य हतियार बनाउने योजनामा छन् ।
सन् १९३८ बाट विश्वकप खेल्दै आएको मेक्सिको तेस्रोपटक क्वार्टरफाइनलमा पुग्ने योजनामा छ । टोलीले सन् १९७० र १९८६ मा मात्रै क्वार्टरफाइनल खेलेको छ र सेमिफाइनल अझै पुग्न सकेको छैन । यसपटक घरमै यो यात्रा तय गर्ने मेक्सिकोको दाउ छ । तर, त्यसअघि उनले इंग्ल्यान्डको बलियो चुनौती पार गर्नुपर्नेछ हुन्छ ।