मोरङ कारागारका कैदीबन्दीको सुविधा हिनामिना प्रकरणमा पक्राउ परेका कांग्रेस स्थानीय नेता अभिषेक गिरीको अपराध कनेक्सन र अकुत सम्पत्ति खोजीमा प्रहरी लागिपरेको छ । मानव अपहरण तथा शरीर बन्धक कसुरमा आठ वर्ष कैद सजाय भुक्तान गरेर ५ चैत ०७९ मा जेलमुक्त भएका ४८ वर्षीय गिरीको संगठित अपराधको जरो पत्ता लगाउन प्रहरी लागिपरेको हो ।
गिरीले पहिले गुन्डागर्दीको नाइके हुँदा कमाएको सम्पत्ति खोज्न प्रहरीले तीनै तहका सरकारमातहतका सहकारीको नियम गर्ने निकाय, बैंक तथा वित्तीय संस्था, कम्पनी रजिस्ट्रार र घरेलु तथा साना उद्योगलगायत कार्यालय, विभागसँग विवरण माग गरेको छ । प्रहरीले जेलबाट निस्केपछि गिरीले स्थापना गरेको ‘गिरी फाउन्डेसन’मार्फत गरेको कारोबार र जोडिएका संलग्न मानिसदेखि आफन्तका नाममा रहेको सम्पत्ति पनि खोजी गरेको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गिरीले कुनै उद्योग वा व्यापारमा साझेदारी गरे–नगरेकोदेखि सेयरमा लगानी भए–नभएको पनि खोजी गरेको छ ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार वर्षौँदेखि हुँदै आएको संगठित अपराधको आशंकामा गिरीले अवैध रूपमा कमाएको धन वित्तीय प्रणाली प्रवेश भए–नभएको स्रोत लुकाउन र अनुसन्धानबाट बच्न विभिन्न बैंक खाता वा देशहरूमा पटक–पटक रकमको कारोबार गर्ने प्रक्रिया, घरजग्गा, गाडी, व्यवसाय वा सामाजिक अभियानमा भएको लगानी पनि खोजी भइरहेको छ ।
‘हामीले गिरीसँग जोडिएको संगठित अपराधको जालो खोज्न नेपाल स्टक एक्सचेन्जसँग सेयर कारोबारको विवरण र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग पनि पुरानो विवरणसमेत माग गरेका छौँ,’ मोरङ प्रहरी प्रवक्ता डिएसपी मिश्रले भने । विगतमा गुन्डागर्दीमा संलग्न गिरीलाई सम्पत्ति शुद्धीकरण विभागले पनि मुद्दा दर्ता गरेको थियो । उनी त्यसवेला धरौटीमा छाडिएका थिए ।
कांग्रेस सत्तामा हुँदा शक्ति प्रयोग गरेर काठमाडाैंबाट मोरङ कारागार सरुवा भएर आएका गिरीले जेलभित्रै संगठित गिरोह बनाएको र उद्योगी–व्यापारीलाई समेत धम्क्याएर रकम असुली गर्ने गरेको आरोप लाग्दै आएको थियो । गिरीकै कारण मोरङ कारागारभित्र पटक–पटक कैदीबन्दीबिच झडप हुँदा एकजना नाइकेको ज्यान पनि गएको थियो । कैद सजाय भुक्तान गरेर बाहिर निस्केका गिरीले आफ्नै नेतृत्वमा ‘गिरी फाउन्डेसन’ खोजेर आफूलाई समाजसेवीका रूपमा पनि चिनाउन थालेका थिए । जेन–जी आन्दोलनअघि कांग्रेस विराटनगर महानगरको सभापतिमा उम्मेदवारी घोषणा गरेका गिरी गत फागुनको प्रतिनिधिसभा निर्वाचनमा मोरङ ४ मा कांग्रेस उम्मेदवारका चुनाव प्रचारप्रसार कमान्डर भएर खटिएका थिए ।
जेलबाहिरै बसेर कैदीबन्दीसँग फिरौती लिने गरेको आरोप
पछिल्लो समय जेलबाहिर बसेर पनि चौकीदार र नाइकेहरूसँग मिलेर मोरङ कारागारभित्र गिरीले मिटरब्याज र फिरौती धन्दा चलाउने गरेको आरोप प्रशासनको छ । कारागार प्रशासनले गर्मी भत्ताका रूपमा दुई हजार पाँच सयका दरले कैदीबन्दीलाई ३ देखि ५ असारसम्म १३ लाख ४० हजार गर्मी भत्ताबापतको रकम गिरीले भित्रकै सहयोगी कर्मचारी, आपूर्तिकर्ता र उनका सहयोगीमार्फत असुलेको सूचना पाएपछि प्रहरीले शनिबार उनलाई घरबाटै नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानकै क्रममा प्रहरीले मोरङ कारागारका सहयोगी शिवचरण यादव, तरकारी आपूर्ति गर्ने विजय कामत र गिरीका सहयोगी दीपक कार्कीलाई पक्राउ गरेको छ । गिरीलाई पक्राउ गरेकै दिन कारागारका चौकीदार रोशन यादवसँग प्रहरीले बयान लिइसकेको छ । त्यसबाहेक गिरीले जेलमा बस्दा कपाली तमसुक गराएर ऋण दिएको बहानामा कैदीबन्दीहरूबाट दैनिक प्राप्त हुने भत्ता र मुढा बुनेर कमाएको आम्दानी पनि फिरौती लिने गरेको आरोप छ ।