दाङको घोराही–तुलसीपुर चारलेन निर्माणको कामका लागि वन डिभिजन कार्यालय दाङले रुख कटान आदेश दिएपछि धमाधम रुख हटाउन थालिएको छ । वन कार्यालय दाङका सूचना अधिकारी भक्तबहादुर चौधरीका अनुसार घोराहीदेखि तुलसीपुरसम्म ५९ वटा रुख काट्नुपर्नेछ । सोहीअनुसार अहिले रुख काट्ने कार्य भइरहेको छ । जसअनुसार सोही सडकमा २० वटाभन्दा बढी पिपलका रुखहरू काट्नुपर्ने अवस्था रहेको उनले बताए ।
विद्युतका पोल र रुखहरू काटिएसँगै चारलेन निर्माणको काम धमाधम अघि बढ्ने निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभीका इन्जिनियर सुनील ढुंगानाले बताए । उनका अनुसार केही स्थानमा विद्युतका पोल पनि हटाइसकिएको छ । अब घोराहीको सर्रा क्षेत्र र तुलसीपुर क्षेत्रमा विद्युतका पोल हटाउन बाँकी छ । विद्युतकै पोलका कारण काम रोकिनुपर्ने अवस्था नभएको उनले बताए । अहिलेसम्म चारलेनको १५ प्रतिशत काम पूरा भइसकेकोसमेत उनले बताए । अहिले वाल, कल्भर्ट र नाली निर्माणको काम भइरहेको छ।
घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म चारलेन बन्नेछ । सोही स्थानमा सडकको क्षेत्र छुट्याउने काम भइसकेको छ । उक्त सडक २१ किलोमिटर ५८ मिटर कालोपत्रे हुनेछ भने चौडाइ चारलेनको हुनेछ । बिचबिचमा मेडिएन र दुवैतर्फ दुई–दुई लेनको हुने उनले बताए । जसमा बजार क्षेत्रमा फुटपाथसहितको चारलेन हुनेछ भने अन्य स्थानमा चारलेन मात्रै हुनेछ ।
सडक स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रेको माथिल्लो भाग हटाइनेछ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रेको काम सुरु हुनेछ । सडक सुधार आयोजनाअन्तर्गत मदन भण्डारी सडक मार्ग परियोजनाअन्तर्गत ठेक्का सम्झौता भएको थियो । तर, निर्माणको अनुगमनको जिम्मा सडक डिभिजन कार्यालय दाङले पाएको छ । सोही सडकको चौडाइ ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्रे हुनेछ । जसमा ढुंगा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्रे गरिनेछ । यसले सडकलाई थप मजबुत बनाउनेछ । सम्झौता भएको मितिले ३६ महिनामा सक्ने गरी सम्झौता भएको सडक डिभिजन कार्याल दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टले बताए । गएको २४ असारमा भ्याट बाहेक दुई अर्ब २४ करोड ५६ लाखमा उक्त सडक चारलेनको काम हुन लागेको हाे ।
सोही सडक चारलेन बनाउनका लागि यसअघिको निर्माण कम्पनीले काम नगरेपछि ठेक्का रद्द गरिएको थियो । ठेक्का रद्द भएपछि ०८१ साउनदेखि नै प्रक्रिया सुरु गरिएको थियो । तत्कालीन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको मिति निर्णयअनुसार तीन करोड ९९ लाख ४९ हजारको बहुवर्षीय ठेक्का गर्ने सहमति भएको थियो । सोहीअनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानका काम भएर फागुन १ गते बोलपत्र आह्वान भएको थियो । उक्त सडकबिचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चारलेनको पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ ।