जाङ्मुमा नेपाल–चीन नियमित बैठक

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण

नेपाल र चीनका अधिकारीले जाङ्मुपोर्ट (खासा) क्षेत्रमा सीमासम्बन्धी नियमित बैठक सम्पन्न गरेका छन्। नेपालतर्फ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे  र चीनतर्फ न्यालम अध्यागमनका प्रमुख एसएसपी मिस्टर झाउ योङ्जुनको नेतृत्वमा बैठक बसेको हो ।

सीमामा हुने अवैध गतिविधि नियन्त्रण, दुवै देशसँग सम्बन्धित चासोबारे जानकारी आदान–प्रदान र तातोपानी नाका सञ्चालनबारे बैठकमा छलफल भएको छ। जेन–जी आन्दोलनको बलमा  सम्पन्न निर्वाचनपछि बनेको नयाँ सरकारको कामलाई  छिमेकी चीन सरकारले नियालिरहेको छ।

यसै सन्दर्भमा  हालसालै जिल्ला आइपुगेका सिडिओ घिमिरेले  नेपाल–चीन सीमामा सदाझैँ सुरक्षा अवस्था र द्विपक्षीय मित्रवत् सम्बन्ध कायम रहने सीमास्थित चिनियाँ अधिकारीलाई सन्देश प्रवाह गरेका छन्। मितेरीपुलमा चिनियाँ पक्षले निर्माण गरिरहेको नयाँ संरचनाबारे बैठकमा कुरा उठेन।

मितेरीपुलमा बनिरहेको संरचना मनासिब छ र छैन भन्नेबारे गृह मन्त्रालयलाई जानकारी दिएको प्रजिअ घिमिरेले बताए। ‘यस्तो विषयमा कूटनीतिक च्यानलमार्फत कुरा हुन्छ,’ उनले भने, ‘सम्बन्धित निकायमा सीमामा भइरहेका सबै गतिविधिसम्बन्धी रिपोर्टिङ गरिएको छ।’ बैठकमा नाकामा पछिल्लो समय छिटफुट देखिएका चोरीतस्करी घटनासम्बन्धी छलफल भएको छ।

बैठकमा जिल्ला प्रहरी प्रमुख एसपी काजीकुमार आचार्य, सशस्त्र प्रहरी नेपाल नम्बर १६ गणका प्रमुख एसपी हरिनारायण श्रेष्ठ, अध्यागमन कार्यालय कोदारी प्रमुख पदमराज तिमल्सिना र राष्ट्रिय अनुसन्धान सिन्धुपाल्चोकका प्रमुख उपअनुसन्धान निर्देशक सुवास कार्की सहभागी थिए । सुरक्षा प्रमुखहरूले सीमामा भइरहेका गतिविधिबारे बोलेका थिए । चिनियाँ पक्षबाट न्यालम अध्यागमनका कमान्डर, सहायक कमान्डर एसपी  मिस्टर लिउ हानयु र खासा प्रहरीका डिएसपी मिस्टर डुनझु सहभागी थिए  ।

सुझावित समाचार