रास्वपाको प्रथम महाधिवेशन : यसरी चयन हुँदै केन्द्रीय सदस्य र पदाधिकारी

५१ केन्द्रीय सदस्य र ११ पदाधिकारी सभापतिले मनोनीत गर्ने

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत सोमबार बिहान ८:३० बजे सुरु हुने तय भएको बन्दसत्र प्रतिनिधि छनोट कार्य नटुंगिँदा स्थगित भएको छ । दिनभर प्रतीक्षा गराइएपछि साँझ ६ बजे बन्दसत्र स्थगितको घोषणा गरिएसँगै महाधिवेशन प्रतिनिधिले असन्तुष्टि व्यक्त गरेका छन् । सोमबारको सम्पूर्ण कार्यतालिका मंगलबारका लागि सारिएको छ । कार्यतालिका प्रभावित भए पनि मंगलबार बिहानबाट बन्दसत्र सुरु हुने रास्वपाले बताएको छ । 

यसरी चयन हुँदै केन्द्रीय सदस्य र पदाधिकारी 

विधान संशोधनसम्बन्धी मस्यौदा प्रस्तावमा १५८ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ । जसमध्ये एकजना सभापति र ९९ केन्द्रीय सदस्यको पहिलो चरणमा निर्वाचन हुनेछ । ५१ सदस्य सभापतिले मनोनयन गर्नेछन् भने सात प्रदेश सभापति पदेन केन्द्रीय सदस्य हुनेछन् । सभापति पनि स्वतः केन्द्रीय सदस्य हुन्छन् ।

रास्वपाले केन्द्रीय सदस्य निर्वाचित व्यक्ति मात्र पदाधिकारीका लागि योग्य हुने व्यवस्था गरेको छ । १९ सदस्यीय पदाधिकारीमध्ये १ वरिष्ठ नेता, २ उपसभापति, १ महामन्त्री, ३ सहमहामन्त्रीका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ । १ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री, कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, प्रवक्ता र ३ सहप्रवक्ता सभापतिले मनोनीत गर्ने प्रस्ताव मस्यौदामा गरिएको छ ।

सहमहामन्त्री विपिन आचार्य नेतृत्वको विधान संशोधनको मस्यौदा सचिवालय र केन्द्रीय समिति बैठकले पास गरिसकेको छ । मंगलबार हुने बन्दसत्रले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । प्रवक्ता मनीष झाका अनुसार महाधिवेशनमा ४३ सयदेखि ४४ सयको हाराहारी प्रतिनिधि पुग्नेछन् ।

See More On

सुझावित समाचार