मिसन राष्ट्रिय जागरण अभियानमा एमाले, पार्टी उठाउन ‘६ ज’ को नीति

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

एमालेले ‘मिसन पार्टी जागरण २०८३’ विशेष राष्ट्रिय अभियान सुरु गरेको छ । गत २१ फागुनको निर्वाचनमा अकल्पनीय धक्का व्यहोरेको एमालेले पार्टीलाई पूर्वअवस्थामै फर्काएर निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने रणनीतिक लक्ष्य राखेर अभियान सुरु गरेको हो । बुधबार कोशी प्रदेशको विराटनगरमा आयोजित प्रदेशस्तरीय भेलामार्फत उद्घाटित अभियान देशव्यापी रूपमा अगाडि बढेको जनाउँदै एमालेले शुक्रबार लुम्बिनी प्रदेशमा केन्द्रीय प्रतिनिधिहरूको विशेष अभिमुखीकरण राखिएको जनाएको छ । 

अभियानअन्तर्गत एमालेले सबै केन्द्रीय नेताहरूलाई स्थानीय तह नै तोकेर काममा खटाएको छ । १० जेठमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीका नेताहरूको कार्यविभाजन गर्दै पदाधिकारीबाहेकका सबै नेताहरूलाई राष्ट्रिय अभियानकेन्द्रित जिम्मेवारी तोकेको थियो । अभियानमा कतिपय प्रदेश कमिटीका सदस्यहरूलाई पनि खटाइएको छ । 

प्रचार विभाग प्रमुख नीरज आचार्यले जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्न अभियान थालिएको बताए । ‘वर्तमान राजनीतिक चुनौतीहरूको सामना गर्दै आमकार्यकर्तामा नयाँ ऊर्जा भर्न र जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्न एमालेले यो राष्ट्रिय अभियान थालेको हो,’ उनले भने, ‘पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादलाई आत्मसात् गर्दै यो अभियान वडा र टोल सतहसम्मै उत्साहका साथ सञ्चालन गरिनेछ ।’ अभियानका क्रममा एमालेले विगतमा अघि सारेको ६–ज’ को नीतिलाई भुइँतहसम्मै प्रभावकारी ढंगले लागू गर्ने रणनीति लिएको छ । त्यसअन्तर्गत सबै नेता–कार्यकर्तालाई आह्वान गर्दै जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसंगठन परिचालन गरौँ, जबज अध्ययन र आत्मसात् गरौँ र योग्य एवं सक्षम नेतृत्व तयार गरौँ भन्ने संकल्प समेटिएको एमालेले जनाएको छ । 

See More On

सुझावित समाचार