राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो विधानमा पार्टीको सभापतिदेखि पदाधिकारी र निर्वाचित सांसदसम्म फिर्ता बोलाउन सकिने व्यवस्था गरेको छ ।
पार्टीको तर्फबाट निर्वाचित कुनै पनि जनप्रतिनिधि वा पार्टीको कार्यकारी पदमा रहेको व्यक्तिले पदीय दायित्व पूरा नगरेमा निजको कार्यकाल सकिनुअगावै सम्बन्धित मतदाता वा पार्टी सदस्यहरूले विधानमा तोकिएको प्रक्रिया पूरा गरी पदबाट फिर्ता बोलाउन सक्ने व्यवस्था लागू गरिने भनिएको छ ।
पार्टी नेतृत्वमा बढीमा दुई कार्यकाल
रास्वपाले पार्टीको कार्यकारी पदमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था विधानमा राखेको छ । नेपाली राजनीतिमा एउटै व्यक्ति आजीवन पदमा रहिरहने प्रवृत्ति मौलाएका वेला रास्वपाले व्यक्ति होइन, पदलाई प्रणालीमा अटाएको हो । विधानमा पार्टीमा नेतृत्वको एकाधिकार तोड्न र पुस्तान्तरणलाई स्वाभाविक प्रक्रिया बनाउन, पार्टीको कुनै पनि कार्यकारी पदमा एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी निर्वाचित वा मनोनीत हुन नपाउने भनिएको छ । रास्वपाले पार्टीका सम्पूर्ण तहका समिति, विभाग र निकायहरूमा कम्तीमा ३३ प्रतिशत महिला र कम्तीमा ३३ प्रतिशत युवाको अर्थपूर्ण प्रतिनिधित्व अनिवार्य गर्ने व्यवस्था पनि विधानमा गरेको छ ।