२३औँ विश्वकपको पहिलो खेलमा अंक बटुलेको स्विट्जरल्यान्ड र बोस्निया हर्जगोभिना समूह ‘बी’मा जितको खोजीमा छन् । अमेरिकाको सोफी मैदानमा बिहीबार मध्यरातमा हुने खेलबाट ३ अंक जोड्दै नकआउट चरण पुग्ने उनीहरूको योजना छ । स्विट्जरल्यान्डले पहिलो खेलमा कतारसँग १–१ को बराबरी खेलेको थियो । कतारले खेलको अन्तिम समयमा स्विट्जरल्यान्डविरुद्ध बराबरी गोल फर्काएको थियो ।
बोस्नियाले पनि घरेलु टोली क्यानडासँग १–१ को बराबरी खेल्दै अंक बटुल्यो । क्यानडाविरुद्ध बोस्नियाले २१औँ मिनेटमै अग्रता बनायो । खेलको ७८औँ मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो । युरोपको प्लेअफमा चारपटकको विश्वकप विजेता इटालीलाई स्तब्ध पारेको बोस्निया पुनः एकपटक उच्च मनोबलसहित स्विट्जरल्यान्डविरुद्ध उत्रँदै छ ।
पहिलो खेलमा बोस्नियाका कप्तान इडेन जेको खेलेका थिएनन् । कप्तानको जिम्मेवारी डिफेन्डर सेड कोलासिनाकले पाएका थिए । प्रशिक्षक जेस मार्सक अनुभवी खेलाडीलाई नै अवसर दिने योजनामा छन् । जेको खेल्ने सम्भावना पनि उत्तिकै छ । उनी नभएको अवस्थामा अर्का स्ट्राइकर इर्मेडिन डेमिरोभिकले अवसर पाउनेछन् । स्विट्जरल्यान्ड ग्रानिट जाकाकै कप्तानीमा खेल्नेछ । पहिलो खेलमा उनले ९० मिनेट नै खेले । उनीसँगै प्रशिक्षक मुरात याकिनले पहिलो खेलमा गोल गरेको एम्बोलो एडमिल्सन जुनियर, इन्टरमिलानका म्यानुएल एकान्जी, रियल बेटिसका रिचार्ड रोड्रिगुइजलाई खेलाउने सम्भावना छ । पछिल्लोपटक सन् २०१६ मा बोस्नियाले स्विट्जरल्यान्डलाई २–० ले हराएको थियो । यही समूहकै अर्को खेलमा क्यानडाले कतारको सामना गर्दै छ ।
प्लेयर्स टु वाच
ग्रानिट जाका (स्विट्जरल्यान्ड)
ग्रानिट जाका स्विट्जरल्यान्डका महत्वपूर्ण खेलाडी हुन् । जाकाले स्विट्जरल्यान्डबाट १४० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । दुई वर्षदेखि उनले इंग्लिस क्लब सन्डरल्यान्डबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । त्यसअघि बुन्डेस लिगाको बायर्न लेभरकुसेनमा उनले दुई वर्ष बिताए । कुनै समय आर्सनलका अनुभवी खेलाडीमा पर्थे । उनले सन् २०१६ देखि सन् २०२३ सम्म आर्सनलबाट दुई सयभन्दा बढी खेल खेलेका थिए । ३३ वर्षीय डिफेन्सिभ मिडफिल्डर जाका स्विट्जरल्यान्डका महत्वपूर्ण खेलाडीमा परेका छन् । आवश्यकताअनुसार उनी फिनिसिङ लाइनसम्म पुग्छन् । लामो सट प्रहार गर्न र डिफेन्ससम्म पुगेर टिमको संकट हटाउन उनी माहिर छन् ।
एर्मेडिन डेमिरोभिक (बोस्निया)
कप्तान इडेनो स्थानमा बोनिस्याले स्विट्जरल्यान्डविरुद्ध डेमिरोभिकलाई उतार्नेछ । डेमिरोभिक अट्याकिङ फुटबलरका रूपमा चिनिन्छन् । उनको खुबी नै विपक्षीको मिडफिल्ड सहजै तोड्ने हो । स्विट्जरल्यान्डको बलियो रक्षापंक्तिविरुद्ध २८ वर्षीय प्रभावशाली स्ट्राइकर प्रभावकारी हुन सक्छन् । उनले पछिल्ला वर्ष बुन्डेस लिगामा खेलिरहेका छन् । त्यसैले अनुभव पनि राम्रो छ । पछिल्लो सिजन डेमिरोभिकले भिएफबी स्टुटगार्डबाट ५९ खेल खैल्दै २७ गोल गरेका थिए । सन् २०२२ देखि २०२४ सम्मको सिजन औगस्बर्गमा रहँदा उनले ६३ खेलमा २३ गोल गरे । सन् २०२१ देखि बोस्नियाको टिममा रहेका उनले ४० भन्दा धेरै खेल खेलिसकेका छन् ।