देशभर ३४ हजारभन्दा बढी एचआइभी संक्रमित
एचआइभी तथा टिबीसँग सम्बन्धित लाञ्छना र विभेद अझै गम्भीर रूपमा कायम रहेको सरोकारवालाहरूले बताएका छन्। रोकथाम, परीक्षण र उपचार सेवामा उल्लेखनीय सुधार भए पनि सामाजिक धारणा, गलत सूचना, संस्थागत व्यवहार र संरचनागत कमजोरीका कारण प्रभावित समुदायले अझै समान र सम्मानजनक सेवा पाउन नसकेको उनीहरूको भनाइ छ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा सर्वेश शर्माले एचआईभी नियन्त्रण तथा उपचारका क्षेत्रमा उल्लेखनीय सुधार भए पनि चुनौती कायमै रहेको बताए। उनका अनुसार नेपालमा करिब ३४ हजारभन्दा बढी एचआईभी संक्रमित रहेको अनुमान छ, जसमा पुरुष १९ हजार ८२१ र महिला १४ हजार ५१६ जना छन्। १४ वर्षमुनिका १ हजार ५८ बालबालिका छन्। उनका अनुसार वार्षिक रूपमा ६१४ जना नयाँ संक्रमण हुने र ५६८ जनाको मृत्यु एचआईभीका कारण हुने गरेको तथ्यांक छ।
बागमतीको अर्थतन्त्र २४ खर्बमाथि, आर्थिक वृद्धिदर ५.४ प्रतिशत रहने अनुमान
बागमती प्रदेशको चालू आर्थिक वर्ष ०८२/८३ मा प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ भने प्रदेशको कुल अर्थतन्त्र (कुल गार्हस्थ्य उत्पादन) २४ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको छ ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आइतबार बसेको प्रदेश सभा बैठकमा प्रस्तुत गरेको बागमती प्रदेश आर्थिक सर्वेक्षण ०८२/८३ मा प्रदेशको आर्थिक, सामाजिक तथा भौतिक विकासका सूचकहरू उल्लेख गर्दै बागमतीले राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा ठुलो योगदान पुर्याइरहेको बताएका छन्।
सर्वेक्षणअनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएकामा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । नेपालको कुल अर्थतन्त्र ६६ खर्ब नाै अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ भने त्यसको ३६.७ प्रतिशत अर्थात् २४ खर्ब २३ अर्ब १२ करोड रुपैयाँ हिस्सा बागमती प्रदेशको रहनेछ ।
निःशुल्क बिजुली, अप्पर कर्णाली र अरुण– ३ मा फिजिबल, तर यी परियोजनामा किन भएनन् ?
२१.९ प्रतिशत बिजुली निःशुल्क नेपाललाई दिनुपर्ने भएपछि तीन ठुला जलविद्युत् आयोजनाबाट भारतीय कम्पनी नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपिसी)ले हात झिक्ने भएको छ । एनएचपिसी ८०० मेगावाटको पश्चिम सेती, ४५० मेगावाटको एसआर– ६ र ४८० मेगावाटको फुकोट कर्णालीमा लगानी नगर्ने निष्कर्षमा पुगेको हो ।
बरु निर्माणका लागि खुला प्रतिस्पर्धाबाट आउने मनसायमा उक्त कम्पनी पुगेको छ । सम्भावित नोक्सानीलाई अन्य सहुलियतबाट सम्बोधन गर्न सकेको अवस्थामा कम्पनीले यसलाई निरन्तरता दिन सक्ने सम्भावना पनि छ । सम्भाव्य पूर्ति लगानी (भिजिएफ), कर, रोयल्टीलगायत विषयमा सहुलियत दिएमा भने एनएचपिसी अघि बढ्न भने सक्ने नेपाली अधिकारीहरूको भनाइ छ ।
काठमाडौं महानगरपालिकाभित्र १२८ डुबान क्षेत्र : डुबानबाट आठ हजार ११५ परिवार प्रभावित हुन सक्ने अनुमान
काठमाडौं महानगरपालिकाले मनसुन पूर्वतयारी र प्रतिकार्य योजना स्वीकृत गरेको छ । कार्यवाहक प्रमुख एवं महानगर विपत् व्यवस्थापन समितिका संयोजक सुनीता डंगोलको अध्यक्षतामा बसेको बैठकले यस वर्ष जेठ १८ गतेदेखि असोज १४ गतेसम्म वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणलाई आधार मानेर कार्ययोजना स्वीकृत गरेको हो ।
महानगरपालिकाका निर्देशक वसन्त आचार्यको अध्यक्षतामा गठित योजना तर्जुमा कार्यदलले तयार पारेको सम्भावित डुबान क्षेत्रको पहिचान र नक्सांकनका आधारमा कार्ययोजना बनाइएको हो ।
स्वीकृत कार्ययोजना कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित विभाग र जिम्मेवार तोकिएका अधिकारीहरूको तदरुकता अबको आवश्यकता हो । बैठकमा समितिका संयोजक डंगोलले भनिन्, ‘राम्रो कार्ययोजना कार्यान्वयन गर्न निरन्तर अभ्यास, स्पष्ट कार्य विभाजन, तोकिएका स्थानमा तोकिएका सामानको उपलब्धता, ती सामानमा सम्बन्धित अधिकारी वा समुदायको पहुँच सुनिश्चित गर्नु ।’ उनले विपत् व्यवस्थापन विभाग र कार्ययोजनामा जिम्मेवारी प्रदान गरिएका अधिकारीलाई भनिन्, ‘कार्ययोजनाको नतिजा विपत् व्यवस्थापनबाट मूल्यांकन हुनेछ ।’
शिक्षा र स्वास्थ्यको तीन प्रतिशत शुल्क फिर्ता हुनुपर्छ : गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले बजेटमार्फत नागरिकलाई कर छुट दिएकोजस्तो देखाए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढी रकम असुल्ने व्यवस्था गरेको बताएका छन्। मध्यम वर्गीय परिवारलाई राहत दिने दाबी गरिए पनि व्यवहारमा शिक्षा, स्वास्थ्य र विद्युतमा थप करको भार थोपरेर सरकारले दिएकोभन्दा धेरै रकम फिर्ता लिएको थापाले आरोप लगाए।
आइतबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा थापाले बजेटको वास्तविक प्रभावबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए। उनका अनुसार व्यक्तिगत आयकरको सीमा बढाएर केही राहत दिएको भनिए पनि अन्य क्षेत्रबाट थप शुल्क र कर लगाउँदा नागरिकको खर्च झन् बढ्ने अवस्था सिर्जना भएको छ।
रास्वपा बागमतीको नेतृत्व उत्सव अर्याललाई, उपसभापतिमा भट्ट र महामन्त्रीमा ठकुरी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको नयाँ सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन्। अत्यन्त प्रतिस्पर्धात्मक निर्वाचनमा उनले निवर्तमान सभापति तथा प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछानेलाई दुई मतको झिनो अन्तरले पराजित गरे।
शनिबारै सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार अर्यालले ४१६ मत प्राप्त गर्दा लामिछानेले ४१४ मत प्राप्त गरेका छन्। अर्यालले २ मतले निवर्तमान सभापति लामिछानेलाई पराजित गरेका हुन्। रास्वपाले पहिलोपटक प्रदेश नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन (ईभीएम) प्रयोग गरेको थियो। निर्वाचन आयोगका अनुसार आवश्यक मत प्रतिशत प्राप्त गरेपछि अर्याल सभापतिमा निर्वाचित भएका हुन्। रास्वपाको सभापतिका लागि कुल मतको ५१ प्रतिशत प्राप्त गर्नुपर्ने प्रावधान छ।
कोचिङ सेन्टर आक्रमणका फरार भारतीय नागरिक विराटनगरमा मृत फेला
भारतको विहार राज्यको राजधानी पटनास्थित ‘खान ग्लोबल स्टडिज’ आक्रमणको आरोपमा फरार रहेका एकजना भारतीय विराटनगरमा मृत अवस्थामा फेला परेका छन्।
विराटनगर– १० मा रहेको होटेल शुभमा साथीहरूसँगै केही दिनदेखि बस्दै आएका बिहारको सहरसा जिल्लाका २४ वर्षीय प्रिन्स यादवको रहस्यमय मृत्यु भएको हो। मोरङ प्रहरीका डिएसपी सन्तोष श्रेष्ठका अनुसार शनिबार राति ११ बजेतिर बिरामी परेपछि यादवलाई उपचारका लागि न्युरो अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।
लागुऔषध तस्करीमा प्रयोग भएको कार गोली प्रहार गरी नियन्त्रणमा
भारतबाट नेपाल भित्रिएको ठुलो परिमाणको अवैध लागुऔषध ट्रामाडोल नियन्त्रणमा लिन नेपाल प्रहरीले गोली प्रहार गरेको छ। घटनामा संलग्न तीन अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्ने बारा सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान, भारतीय नागरिक ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय महमद सद्दाम रहेका छन्। उनीहरूले भारतको बिहारस्थित नाकाबाट बागमती प्रदेश बिएडी ९२०१ नम्बरको कारभित्र लुकाई उक्त लागुऔषध ल्याएका थिए।
काठमाडौं महानगरले भाडामा लगाएका घरजग्गा दर्ता अनिवार्य गर्ने
काठमाडौं महानगरपालिकाले बहालमा लिए–दिएका घरजग्गा तथा अन्य संरचना–सम्पत्तिहरूको अनिवार्य दर्ता गर्ने व्यवस्था गर्ने भएको छ। आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरले यस्तो घोषणा गरेको हो।
महानगरपालिकाले असुल गर्ने बहाल र व्यवसाय करलाई वैज्ञानिक, न्यायोचित र करदातामैत्री बनाउन प्रयोजन र स्थान विशेष क्षेत्रका आधारमा करका दर निर्धारण गर्ने तथा करका दायरामा नआएका करदाताको पहिचान गरी कर तिर्न उत्प्रेरित गर्ने, उपयुक्त छुट सुविधा प्रदान गर्ने, करदातालाई राजस्व सेवासम्बन्धी सूचना, जानकारी तथा सन्देश एसएमएसमार्फत सम्प्रेषण गर्ने जनाएको छ।
पोखरा एभेन्जर्सले भुर्तेलसहित सातजनालाई रिटेन गर्दा पाँचजना रिलिज
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को लागि पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सातजनालाई रिटेन गर्दा पाँचजनालाई रिलिज गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डरअनुसार हुने प्रतियोगिताको तेस्रो संस्करणको मिति तय भइ नसकेपनि टोलीहरु भने तयारीमा जुटेका छन्। सोही क्रममा पोखराले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै अघिल्लो संस्करणमा रहेका खेलाडी नयाँ संस्करणमा टिममा रहने नरहनेबारे जानकारी दिएको हो।