राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको नयाँ सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन्। अत्यन्त प्रतिस्पर्धात्मक निर्वाचनमा उनले निवर्तमान सभापति तथा प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछानेलाई दुई मतको झिनो अन्तरले पराजित गरे।
शनिबारै सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार अर्यालले ४१६ मत प्राप्त गर्दा लामिछानेले ४१४ मत प्राप्त गरेका छन्। अर्यालले २ मतले निवर्तमान सभापति लामिछानेलाई पराजित गरेका हुन्। रास्वपाले पहिलोपटक प्रदेश नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन (ईभीएम) प्रयोग गरेको थियो। निर्वाचन आयोगका अनुसार आवश्यक मत प्रतिशत प्राप्त गरेपछि अर्याल सभापतिमा निर्वाचित भएका हुन्। रास्वपाको सभापतिका लागि कुल मतको ५१ प्रतिशत प्राप्त गर्नुपर्ने प्रावधान छ।
सभापति पदमा अर्याल विजयी भए पनि उपसभापति पदमा भने डा. लामिछाने समूहका उम्मेदवार सुरेन्द्र भट्ट विजयी भएका छन्। अघिल्लो कार्यकालमा प्रदेश कमिटीका महामन्त्री रहेका भट्टले २४७ मत प्राप्त गर्दै उपसभापतिमा विजय हासिल गरे। उनीसँग पराजित कृष्णमान श्रेष्ठले १६१ मत प्राप्त गरे।
सभापति पदका आकांक्षी श्रेष्ठले पछि अर्याललाई समर्थन गर्दै उपसभापतिमा प्रतिस्पर्धा गरेका थिए। यस्तै उपसभापतिका अन्य प्रतिस्पर्धीहरु राधिका तिमल्सिनाले ४९, निना रेग्मी पोखरेलले ३० तथा गीता पौडेलले ९ मत प्राप्त गरे। प्रदेश समितिको महामन्त्री पदमा सिन्धुलीकी मेनुका ठकुरी निर्वाचित भएकी छिन्। यसअघि प्रदेश कमिटीको कोषाध्यक्ष रहेकी ठकुरीले २१९ मत प्राप्त गरिन्। उनले प्रतिनिधिसभा सदस्य बदनकुमार भण्डारीलाई १२ मतको अन्तरले पराजित गरेकी हुन्। भण्डारीले २०७ मत प्राप्त गरेका थिए। सोही पदका अन्य उम्मेदवार सुमनकुमार धितालले २७ तथा सिए प्रदीप उप्रेतीले ४४ मत प्राप्त गरे।
महिला सहमहामन्त्री पदमा नुवाकोटकी स्वस्तिका लामिछाने ३०९ मतसहित निर्वाचित भएकी छिन्। उनकी निकटतम प्रतिस्पर्धी सरला लामिछानेले १५९ मत प्राप्त गरिन् भने कुसुम बस्नेतले ३१ मत प्राप्त गरिन्। यसैगरी खुला सहमहामन्त्री पदमा काठमाडौंका मिनप्रसाद गैरे निर्वाचित भए। उनले २०३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी डा. रमेश ढकालले १७७ तथा प्रकाश खत्रीले ६४ र राजु सुनारले ५३ मत प्राप्त गरे।
रास्वपाको विधानअनुसार बागमती प्रदेश समिति ६५ सदस्यीय रहने व्यवस्था छ। समितिमा सभापति, उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता तथा सदस्यहरू रहनेछन्। अधिवेशनमार्फत सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित सदस्यहरूको चयन भएको हो।
रास्वपाको बागमती प्रदेश अधिवेशन जेठ २६ गतेबाट सुरु भएको थियो। तर मतदाता नामावली, समायोजन सूची तथा निर्वाचन व्यवस्थापनसम्बन्धी विवादका कारण मतदान प्रक्रिया स्थगित भएको थियो। प्रदेशका १३ जिल्लाबाट करिब १ हजार २ सय प्रतिनिधि सहभागी भएको अधिवेशनमा निर्वाचन सुरु भएसँगै प्रतिनिधिहरूले मतदाता सूची र उम्मेदवार विवरणमा असन्तुष्टि जनाएका थिए। त्यसपछि केन्द्रीय निर्वाचन आयोगले मतदाता प्रमाणीकरण, प्राविधिक सुधार र व्यवस्थापकीय तयारी पूरा गरी पुनः निर्वाचनको मिति तय गरेको थियो।