विश्व खेलकुदको लोकप्रिय खेल फिफा विश्वकपको २३औँ संस्करण सुरु भइसकेको छ । आइतबार बिहान कतार र स्विट्जरल्यान्डबिचको खेलसँगै पाँच खेल सम्पन्न भए । अब ९९ खेल बाँकी छन् । प्रतियोगिता उत्तर अमेरिकाका अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गरेका हुन् । झन्डै ६ साता विश्वभरका फुटबल समर्थकको ध्यान यही विश्वकपले केन्द्रित गर्नेछ । उपाधिसँगै यसपटक गोल्डेन बल कसले जित्छ भन्ने मुख्य प्रश्न रहेको छ । त्यसका लागि आयोजक फिफाले नै गोल्डेन बुटको सम्भावित दाबेदार सार्वजनिक गरेको छ ।
केलियन एम्बाप्पे (फ्रान्स) : केलिएन एम्बाप्पे लगातार तेस्रोपटक विश्वकप खेल्दै छन् । २७ वर्षीय यी स्ट्राइकरले सन् २०१८ मा फ्रान्सलाई पहिलो अवसरमै उपाधि जिताएका हुन् । त्यतिवेला उनी मात्र १९ वर्षका थिए । त्यसपछि उनले अहिलेसम्म ९८ खेलमा ५३ गोल गरिसकेका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी)पछि रियल मड्रिड पुगेसँगै उनी निकै परिपक्व पनि बनेका छन् । फ्रान्सका लागि थिएरी हेनरी ३० तथा ओलिभर जिरौड ३६ वर्षको उमेरमा पुग्दा उच्च गोलकर्ताको कीर्तिमान बनाउन सफल भएका थिए । तर एमबाप्पेले २७ वर्षको उमेरमै आफूलाई फ्रान्सका लागि इतिहासमै सबभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको रूपमा उभ्याइसकेका छन् । चार वर्षअघि नै कतारमा आठ गोल गर्दै उनले गोल्डेन बुट जितेका थिए । यसपटक उनी टिमलाई लगातार तेस्रो पटक फाइनलमा पुर्याउने र उपाधि जिताउने लक्ष्यमा छन् ।
ह्यारी केन (इंग्ल्यान्ड) : बढ्दो उमेरसँगै इंग्ल्यान्डका कप्तान ह्यारी केनमा झनै परिवक्वता बढेको छ । उनी पछिल्लो वर्षहरूमा झनै खारिएको देखिन्छन् । पछिल्लो दुई वर्ष लगातार उत्कृष्ट प्रदर्शन गर्न सफल भए । टोटनह्यामबाट बायर्न म्युनिख आएपछि झनै आत्मविश्वास बढेको छ । जसले केनलाई यो विश्वकपमा उच्च गोलकर्ताको ताज पहिर्याउन सक्छ । कप्तान केनले इङ्ल्यान्डका लागि ११३ अन्तर्राष्ट्रिय खेलमा ७९ गोल गरिसकेका छन् । त्यसमा विश्वकपका ८ गोल पनि समावेश छन् । विश्वकपमा ८ गोल गर्नका लागि उनले ११ खेल खेलेका थिए । ३२ वर्षे स्ट्राइकर इंग्ल्यान्डका लागि पछिल्ला नौ वर्षमध्ये लगातार पाँच वर्षदेखि प्रतिखेल एक गोलका दरले स्कोर गर्न सफल भएका छन् ।
लियोनल मेसी (अर्जेन्टिना) : लियोनल मेसी विश्व फुटबलले पछिल्लो दुई दशकमा पाएको सर्वोत्कृष्ट खेलाडीमध्ये एक हुन् । साबिक विजेता अर्जेन्टिनाका लागि मेसीले कुल १९८ अन्तर्राष्ट्रिय खेलमा ११६ गोल गरिसकेका छन् । त्यसमा विश्वकपमा भएका १३ गोल पनि समावेश छन् । विश्वकपमा १३ गोल गर्नका लागि उनले २६ खेलेका छन् । ३८ वर्षीय मेसी यसपटक उपाधि रक्षा अभियानमा छन् । पछिल्लो दशक विश्वकप उपाधि भोगका कारण दबाबमा रहेका मेसी यसपटक भने उपाधि जितिसकेकाले पनि दबाबमुक्त हुनेछन् । जसका कारण यसपटक उनलाई गोल्डेन बलको उपाधि दाबेदारको रूपमा पनि हेरिएको छ । मेसी पछिल्लो दुईपटक ६ गोल गरेर पनि गोल्डेन बल प्राप्त गरेनन् । जुन सफलता यसपाली उनको भागमा पर्न सक्छ ।
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) : लियोनल मेसीसँगै क्रिस्टियानो रोनाल्डो विश्व फुटबलले पाएको इतिहासकै सर्वकालीन महान् खेलाडीमध्ये एक हुन् । रोनाल्डोले पोर्चुगलका लागि २२६ खेलमा १४३ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । विश्वकपमा २२ खेलमा सहभागिता भएका रोनाल्डोले ८ गोल गरेको छन् । विश्व फुटबल इतिहासमै सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बनाएका रोनाल्डो ४० वर्षको उमेरमा पुगिसकेका छन् । तर मैदानमा उनको गति, ड्रिब्लिङ, फ्रिकिक र गोल गर्ने लय उस्तै छ । साउदी प्रो लिगको क्लब अलनासरबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डोले पोर्चुगलका लागि पछिल्ला ३० खेलमा २५ गोल गरेका छन् । जसले उनको उमेर ढल्कँदै गएको नभई थप परिपक्व भएको प्रमाण दिन्छ ।
औसमान डेम्बेले (फ्रान्स) : पछिल्ला दुई वर्ष पेरिस सेन्ड जर्मन (पिएसजी)मा गरेको प्रदर्शनलाई आधार मान्दा यसपटक विश्वकपको गोल्डेन बुट दाबेदार औसमान डेम्बेले हुन् । उनले लगातार दुई पटक पिएसजीलाई युरोपियन च्याम्पियन्स लिगको उपाधि जिताएका छन् । त्यस्तै फ्रेन्च लिगको पनि उपाधि जिताएका हुन् । त्यसैले पनि डेम्बेलेलाई यसपालिको गोल्डेन बुट दाबेदारका रूपमा लिन सकिन्छ । उनले फ्रान्सका लागि ५९ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । तर, पछिल्ला दुई विश्वकपमा ११ खेल खेल्दा उनले गोल गरेका छैनन् । डेम्बेलेले सहकर्मी एमबाप्पेभन्दा पछाडि वा वाइड आक्रामक भूमिका पाउने सम्भावना बलियो छ । त्यसो हुँदा विपक्षी रक्षापंक्तिको ध्यान एमबाप्पेमा केन्द्रित हुनेछ र डेम्बेलेले धेरै मौका पाउने सम्भावना रहन्छ ।
एर्लिङ हालान्ड (नर्वे) : म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड पनि यसपटक गोल्डेन बुटको दाबेदार हुन् । पछिल्ला वर्षमा उनले सिटीको लागि सानदार प्रदर्शन गर्दै आएका छन् । त्यसैले पनि उनलाई यसपटक दाबेदारको रूपमा हेरिएको छ । अन्तर्राष्ट्रिय फुटबलमा उनले नर्वेका लागि ५० खेलमा ५५ गोल गरेका छन् । गत अक्टोबरमा उनी विश्व फुटबल इतिहासकै छैटौं तथा पछिल्लो ५३ वर्षमा ५० भन्दा कम खेलमा ५० अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमान राख्न सफल भए । विपक्षी डिफेन्डरका लागि ठूलो चुनौतीका रूपमा हाल्यान्डले आफूलाई प्रस्तुत गर्दै आएका छन् ।
भिनिसियस जुनियर (ब्राजिल) : कार्लो एन्सोलोटी ब्राजिलको टिममा भिनिसियस जुनियरलाई समावेश गरेसँगै यी दुईको जोडी रियाल मड्रिडमाझैँ जम्ने अनुमान गरिएको छ । विश्वकपमा ४ खेल खेलेका उनको नाममा एक गोल छ । यसपटक यो संख्या बढ्ने अनुमान गर्न सकिन्छ । एन्सोलोटीले ब्राजिलको टिममा भिनिसियसलाई नै विश्वास गर्ने हुँदा पनि उनी गोल्डेन बुटको दाबेदार हुन् ।